निर्वाचन आयोगमा पदाधिकारी नियुक्त

पछिल्लोपल्ट अपडेट गरिएको: 24.03.13, 20:11 NST सम्मका समाचार
निर्वाचन आयोग

प्राविधिक र प्रशासनिक जटिलता अध्ययन गरेर चुनावको मितिबारे सरकारलाई सुझाव दिने आयोगको भनाइ छ

संवैधानिक परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामवरण यादवले निर्वाचन आयोगमा प्रमुख सहित पाँच जना आयुक्त नियुक्त गरेका छन्।

नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरुले शपथ लिएपछि आईतबार नै पदभार ग्रहण गरेका छन्।

आयोगमा एक कार्यकाल बिताएका पदाधिकारीलाई पुन नियुक्ति दिने सम्बन्धमा संवैधानिक परिषद्ले स्पष्ट पारेपछि राष्ट्रपति कार्यालयले सिफारिस गरिएकाहरुको नामलाई अनुमोदन गरेको हो।

संवैधानिक परिषद्को सिफारिसका बाबजुद राष्ट्रपति कार्यालयको आनाकानी र विभिन्न अड्कलबाजीकाबीच निर्वाचन आयोगले अन्तत: पूर्णता पाएको छ।

"संवैधानिक परिषद्ले राम्रोसँग हेरेर नै सिफारिस गरिएको हो भनेर जुन शनिबार दोहोराएर पत्र पठायो त्यसलाई स्वीकार गरेर राष्ट्रपति कार्यालयले निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरेको हो"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामवरण यादवले प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, रामभक्त पीबी ठाकुर र ईला शर्मालाई नियुक्त गरेका हुन्।

नियुक्तिबारे जानकारी दिँदै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “संवैधानिक परिषद्ले राम्रोसँग हेरेर नै सिफारिस गरिएको हो भनेर जुन शनिबार दोहोराएर पत्र पठायो त्यसलाई स्वीकार गरेर राष्ट्रपति कार्यालयले निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरेको हो।”

सपथ

राष्ट्रपतिको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई शपथ ग्रहण गराएका थिए भने उप्रेतीले अन्य आयुक्तलाई शपथ दिलाएका थिए।

संवैधानिक आधारबारे स्पष्टता खोजेर राष्ट्रपति कार्यालयले आफ्नो काम गरेको तर बाँकी उसको क्षेत्राधिकार नभएको राष्ट्रपतिका प्रेस सल्लाहकार दाहलले बताए।

नियुक्त भएका प्रमुख आयुक्त उप्रेतीसँग निर्वाचनबारे लामो अनुभव छ भने अन्य आयुक्तहरु गुरुङ र यादवले निर्वाचन आयोगमा काम गरिसकेका छन्।

तर आयुक्तद्वय ठाकुर र शर्मा चुनावी पृष्ठभूमि बोकेका अनुहार होइनन्।

नियुक्ति र शपथ ग्रहणको औपचारिकतापछि नवनियुक्त आयुक्तहरु समक्ष निष्पक्ष र विश्वसनीय चुनाव गराउने चुनौती छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।