चुनाव विथोल्ने अभियान तीव्र पार्ने नेकपा माओवादीको चेतावनी

पछिल्लोपल्ट अपडेट गरिएको: 25.03.13, 18:58 NST सम्मका समाचार
निर्वाचन आयोग

मतदाता नामावली संकलन कार्यमा हालसम्म १५ जिल्लामा अवरोध भइसकेको आयोगको भनाइ छ

चार राजनीतिक शक्तिहरुले हालै गरेको सहमति र त्यसमा आधारित भएर गठन भएको प्रधानन्यायाधीश नेतृत्वको सरकार खारेज नभए चुनाव बिथोल्ने अभियान तीव्र पार्ने मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले चेतावनी दिएको छ।

नेकपा माओवादीलगायतले थालेको सो अभियानले १५ जिल्लामा मतदाता नामावली संकलनमा अवरोध भइसकेको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन्।

हालसम्म एक करोड दश लाख मतदाताको नाम दर्ता भइसकेको र यही चैत मसान्तसम्म थप पन्ध्र लाखको नाम संकलन गर्ने आयोगको योजना थियो।

तर माओवादी तथा अन्य केही समूहहरुले थालेको अवरोधले आफ्नो योजना भताभुंग हुने डर बढेको आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले बताए।

“चैत मसान्तसम्म पन्ध्र लाख मतदाता दर्ता गर्ने हाम्रो लक्ष्य थियो। अब त्यसमा अप्ठेरो परेको छ,” ठाकुरले भने।

उनका अनुसार पूर्वमा जातीय समूहको अवरोध छ भने अन्यत्र माओवादीले विथोलेको छ।

'पार्टी नीति'

शुरुबाटै वर्तमान सरकारको विरोधमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचन आयोगमा पदाधिकारीहरुको नियुक्तिसंगै जिल्ला जिल्लामा मतदाता नामावली संकलनका कार्यक्रमहरु बिथोल्ने अभियान तीव्र पारेको हो।

"नसच्च्याउने अनि बल प्रयोग गरेर जान्छौं भन्छन् भने यी असफल तीन दल र मधेशी मोर्चाका नेताले निर्णय गर्दै जाने अनि राष्ट्रपतिले लाहाछाप लगाउँदै जाने हो भने त्यो मूर्खता सिवाय केही हुने छैन"

पम्फा भुषाल, प्रवक्ता, नेकपा माओवादी

उक्त अभियान आफ्नो पार्टीको नीति अनुरुप नै भइरहेको सो दलकी प्रवक्ता पम्फा भुषालले बताइन्।

“नसच्च्याउने अनि बल प्रयोग गरेर जान्छौं भन्छन् भने, यी असफल तीन दल र मधेशी मोर्चाका नेताले निर्णय गर्दै जाने अनि राष्ट्रपतिले लाहाछाप लगाउँदै जाने हो भने त्यो मूर्खता सिवाय केही हुने छैन,” भुषालले भनिन्।

यस्ता गतिविधिबाट चुनावको पहिलो र महत्वपूर्ण खुड्किलो मानिने मतदाता नामावलीको संकलनमा गम्भीर असर पर्ने चिन्ता निर्वाचन आयोगका पदाधिकारीहरुको छ।

“आईतबार हामीले पद बहाल गर्ने वित्तिकै हाम्रो चिन्ता मतदाता नामावली संकलनमा भइरहेको अवरोधपट्टि गयो। हामीले यसबारे जानकारी लिंदैछौं तथा कसरी समाधान गर्ने भनेर छलफल गर्दैछौं,” आयोगका एकजना आयुक्त अयोधीप्रसाद यादवले बताए।

नेकपा माओवादीले भने अन्य दल तथा समूहहरुसंगको सहकार्यमा आउने दिनहरुमा आफ्नो अभियान थप चर्काउने चेतावनी दिएको छ।

विश्लेषकहरु भन्छन्, बेलैमा यस समस्याको समाधान ननिस्किए, उसै पनि समय घर्किरहेको बेला असारभित्र चुनाव गर्नु फलामको च्युरा चपाएसरह हुन सक्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।