सार्नु नपर्ने गरी चुनावको मिति तोकिनु पर्छ: एमाले

  • 27 मार्च 2013
निर्वाचन आयोग
Image caption संविधानसभाको चुनावको निम्ति आयोगले फोटोसहित मतदाता नामावली दर्ता कार्यक्रम जारी राखेको छ

असारभित्र चुनाव गराउन कठिन भएको चर्चा चलिरहँदा नेकपा एमालेले फेरि सार्नु नपर्ने गरी चुनावको मिति तोकिनुपर्ने धारणा अघि सारेको छ।

सो दलले विद्युतीय मतदान तथा फोटोसहितको मतदाता नामावलीको सुनिश्चितता हुनु पर्ने कुरामा पनि जोड दिएको छ।

असारभित्र चुनाव होला कि नहोला भन्ने चर्चाले तीव्रता पाउँदै गर्दा बुधबार बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टी चुनावमा होमिने निर्णय गर्दै त्यसका निम्ति केही पूर्वशर्तहरुबारे छलफल गरेको थियो।

विशेषगरी चुनावको मितिबारे पार्टिले लिएको निर्णयबारे बीबीसीसंग कुरा गर्दै एमाले सचिव शंकर पोखरेलले भने, “चुनावको मितिबारे खासगरी हामीले दुईवटा कुरालाई जोड दिएका छौं।

"एक त फोटोसहितको मतदाता नामावली अनि अर्को विद्युतीय मतदानको सुनिश्चितता हुने गरी एकपटक मिति तोकेपछि नसर्ने खालको भरपर्दो आधार तयार पारेर अविलम्ब मिति तोक भनेका छौं।”

संकेत

हाल देशका विभिन्न जिल्लामा निर्वाचन आयोगले सञ्चालन गरिरहेको फोटो सहितको मतदाता दर्ता प्रक्रियामा मोहन वैद्य नेतृत्वको माओवादी लगायत केही दलले भाँजो हालेको तथा आयोग स्वयंले विद्युतीय मतदानको तयारीलाई बढी समय लाग्ने संकेत गरेको बेला एमालेको उक्त निर्णय आएको छ।

त्यसको अर्थ असारको साटो कार्त्तिक मंसिरमा चुनाव गर्नु बेस हुन्छ भन्ने हो भनी सोधिएको प्रश्नमा सचिव पोखरेलको जवाफ थियो, “होइन, हामीले त कानूनमा व्यवस्था भए अनुरुपको चुनावको तयारीका लागि लाग्ने समय लिएर, समय नसर्ने गरी, मिति सकेसम्म छिटो तोक्न भनेका छौं।”

सोही बैठकमा एमालेले यसअघिको बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु बदर गर्न पनि औपचारिक माग गरेको छ।

तटस्थ सरकार रहेको बेला सरकारका अंगहरुमा चाहीं राजनीतिक नियुक्ति कायम राख्नु उपयुक्त नहुने पोखरेलको भनाइ थियो।

असारमा चुनाव हुन सक्ने हो वा होइन भन्ने दुविधा कायम रहेको बेला एउटा प्रमुख दल एमालेको पछिल्लो भनाइले चुनाव धकेलिने सम्भावनालाई नै बल मिलेको जानकारहरु बताउँछन्।