मार्गरेट थ्याचरको निधन

  • 8 एप्रिल 2013
मार्गरेट थ्याचर
Image caption मार्गरेट थ्याचर अन्तर्राष्ट्रिय मन्चमा दशकौंसम्म अग्रणी व्यक्तित्वको रुपमा रहेकी थिइन्

ब्रिटेनकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको सतासी बर्षको उमेरमा निधन भएको छ।

उनका एकजना प्रवक्ताले सोमबार बिहान मस्तिष्काघातका कारण उनको निधन भएको जनाए।

उनको स्वास्थ्य केही समय यता निकै कमजोर थियो।

अन्तर्राष्ट्रिय मन्चमा दशकौंसम्म अग्रणी व्यक्तित्वको रुपमा रहेकी थ्याचर सन् १९७९ मा ब्रिटेनको प्रधानमन्त्रीको पदमा निर्वाचित भएकी थिइन्।

सन् १९९० सम्म झण्डै एघार बर्ष लामो शासनकालमा उनी ब्रिटिश राजनीतिमा एक प्रमुख व्यक्तित्वको रुपमा रहेकी थिइन्।

समवेदना

ब्रिटिश राजनीतिज्ञहरुले थ्याचरको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

आफ्नो कन्जर्भेटिभ पार्टीकी भूतपूर्व नेतृ मार्गरेट थ्याचरप्रति श्रद्धान्जली व्यक्त गर्दै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले भने, "थ्याचर शान्तिकालीन ब्रिटेनकी सबैभन्दा महान नेतृ थिइन् र चुनौतीहरुकाबीच पनि उनले सफलता प्राप्त गरेकी थिइन्।"

ब्रिटेनकी महारानी एलिजाबेथले थ्याचरको निधनको समाचार सुनेर आफु दुखी भएको बताउंदै आफुले उनको परिवारलाई एउटा निजी समवेदना सन्देश पठाउन लागेको जनाएकी छिन्।

राष्ट्रपति बाराक ओबामाले भने, "विश्वले स्वतन्त्रताको पक्षमा लडने एक महान योद्धा र अमेरिकाले एउटा सांच्चिकै मित्र गुमाएको छ।"

भूमिका

मार्गरेट थ्याचरले अन्तर्राष्ट्रिय मन्चहरुमा पनि एउटा प्रमुख भूमिका निर्वाह गरेकी थिइन्।

तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसंग निकट संबन्ध रहेकी उनले सोभियत संघको विघटन पछि शित युद्धको अन्त्य गर्न रेगनलाई सघाएकी थिइन्।

आइरन लेडीको नामले पनि चिनिने उनले फाकल्याण्ड टापुमा अर्जेन्टिनाले अतिक्रमण गरेपछि गोर्खाली लगायतका ब्रिटिश सैन्यलाई त्यहां पठाइ युद्ध जितेकी थिइन्।

तर पछि युरोपेली संघभित्र ब्रिटेनको स्थानको विषयलाई लिएर उनको पार्टीभित्र मतभेद चर्किएपछि उनले पद छाडनु परेको थियो।

उथलपुथल

आफु प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले देशको आर्थिक नीतिहरुमा उथलपुथल ल्याइदिएकीथिइन्।

उनले निजीकरण योजना लागू गर्नुकासाथै ट्रेड युनियनहरुका अधिकारहरु सीमित गरीदिएकी थिइन्।

आफ्ना कदमहरुका कारण ब्रिटेन तथा बाहिर पनि उनलाई कैयौंले मन पराउंथे भने कैयौंले घृणा पनि गर्दथे।

सन् १९७६ मा तत्कालिन सोभियत संघको दमनकारी नीतिहरुको आलोचना गरेका कारण एउटा रुसी समाचारपत्रले उनलाई ‘आइरन लेडी’ को उपमा दिएको थियो, जसबाट उनी व्यक्तिगतरुपमा आनन्दित पनि हुन्थिन्।

थ्याचरको निधनमा शोक जनाउन सोमबार ब्रिटेनमा देशभरि नै राष्ट्रिय झण्डाहरु आधा झुकाइएको थियो।

उनको अन्त्येष्ठी समारोह पूर्ण सैनिक सम्मानकासाथ सेन्ट पलस्थित गिर्जाघरमा गरिने बताइएको छ।