'चीन र भारतको साथको खोजी'

  • 14 एप्रिल 2013
प्रचण्ड
Image caption भारतप्रति उग्र असन्तुष्टि जनाउने प्रचण्ड पछिल्ला दिनमा सन्तुलित अभिव्यक्ति दिने गरेका छन्

अर्को हप्ता भारत भ्रमणमा जान लागेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि उत्तरी छिमेकी चीनको भ्रमण शुरु गरेका छन्।

प्रचण्डले नेपालको आन्तरिक मामिलामा गम्भीर चासो र प्रभाव राख्ने दुबै देशको सँगसँगै जसो गर्न लागेको भ्रमणलाई नेपालको विकास र स्थायित्वको पक्षमा सदुपयोग गर्ने प्रतिकृया दिएका छन्।

आर्थिक र सामरिक हैसियतका कारण विश्वमा आफ्नो अलग पहिचान बनाएर अघि बढिरहेको चीनमा हालै नयाँ नेतृत्व आएको छ।

योजना

त्यो नेतृत्वले समकालीन नेपाली राजनीतिका एकजना प्रभावशाली नेता प्रचण्डलाई द्वीपक्षिय छलफल र भेटघाटका निम्ति पहिलो नेपाली नेताको रुपमा रोजेको छ।

विश्वका शक्तिशाली देशहरुले चासोपूर्वक हेरिरहेका चीनको नयाँ नेतृत्वसँग आफुले गर्ने कुराकानीको योजना सुनाउँदै प्रचण्डले भने, "राजनीतिक संक्रमणकालको पनि असाध्यै संवेदनशील अवस्था रहेकाले मेरो कुराकानी नेपालको स्थायित्व र विकासमा केन्द्रित हुनेछ।"

प्रचण्ड प्रधानमन्त्री हुँदा विदेश भ्रमण भारतबाट शुरु गर्ने 'परम्परा' तोड्दै चीन गएका थिए।

कतिपयका भनाइमा दक्षिणी छिमेकी भारत त्यसप्रति असन्तुष्ट थियो।

त्यस लगत्तै देखा परेको सेनापति प्रकरणलाई लिएर प्रचण्ड सरकार त्याग्न वाध्य बनेका थिए।

उनले त्यसका पछाडि भारतको मुख्य भूमिका रहेको सार्वजनिक घोषणा गरेका थिए।

भेउ

त्यस लगत्तै उनको नेतृत्वको एकीकृत नेकपा माओवादी 'राष्ट्रिय स्वाधीनता रक्षाका निम्ति' भन्दै सडक आन्दोलनमा उत्रिएको थियो।

सम्भवत: त्यसयता प्रचण्डले नेपालको आन्तरिक मामिलामा छिमेकी प्रभाव र अन्तर्राष्ट्रिय राजनीतिबारे राम्रै भेउ पाएका हुन सक्छन्।

अन्तर्राष्ट्रिय मामिलामा विगतमा 'उग्र र असन्तुलित' अभिव्यक्ति दिने प्रचण्ड चीन जानु अघि सन्तुलित सुनिए।

उनले भने, "नेपालको स्थायित्व र समृद्धिका मुद्दामा दुबै देशको समर्थन जुटाउने मेरो प्रयास हुनेछ।"

चीनले प्रचण्डपछि अन्य दलका नेताहरुलाई पनि भ्रमणमा बोलाएको बताइएको छ, जसलाई चीनले आफ्नो सानो छिमेकीलाई र त्यहाँ भइरहेका गतिविधिलाई सूक्ष्म रुपमा ख्याल गरिरहेको सन्देशको रुपमा पनि हेरिएको छ।