उच्चसमिति विस्तारमा मधेसी मोर्चाको सहमति

  • 20 एप्रिल 2013
निर्वाचन आयोग
Image caption संविधानसभाको चुनाव गराउन राजनीतिक वातावरण नदेखिंदा प्राविधिक पक्षहरु पनि अपुरै छन्

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाललाई चार राजनीतिक शक्ति सम्मिलित सरकारलाई सघाउन बनाइएको उच्च राजनीतिक संयन्त्रमा भित्र्याउँदा आफूहरुलाई कुनै आपत्ति नहुने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकजना नेताले जनाएका छन्।

सरकार पक्षीय केही दल र सरकारले चुनाव प्रकृयाप्रति असन्तुष्ट दलहरुसँग वार्ता प्रयास थालेका बेला मधेसी मोर्चाका एकजना नेताले बीबीसीसँगको कुराकानीमा त्यस्तो प्रतिकृया दिएका हुन्।

उच्च राजनीतिक समितिको संयोजक बनेपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले यादवका साथै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई समितिमा ल्याउने प्रतिबद्धता दर्शाएका छन्।

सरकारले पनि उनीहरुसँग वार्ताको प्रयास गरिरहेको छ।

खुला

तराईमा भएको आन्दोलनको एक प्रमुख नेतृत्वकर्ता यादव आफैले अगुवाइ गरेको मधेसी मोर्चाबाट यतिवेला अलग छन्।

दुईथरी माओवादीबीच जस्तै यादव र उनीबाट फुटेर गएकाहरु दल सहभागी मधेसी मोर्चाबीचको तिक्ततापूर्ण नाताले सहमतिको प्रयासमा अप्ठेरो पार्न सक्ने केहीको आशंका पाइन्छ।

तर मोर्चामा सम्मिलित तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले भने, "चुनाव राजनीतिक प्रकृया हो, यो संसदको नभई संविधानसभाको चुनाव भएकाले उच्च समिति बनाउँदा नै सबै पक्षलाई चुनावमा समेट्ने कुरामा खुला रहने निर्णय गरेकाले उपेन्द्रजीलाई समितिमा भित्र्याउन हाम्रो कुनै आपत्ती छैन।"

उपेन्द्र यादवको फोरमबाट फुटेर बनेका र पछि आफैमा फेरी टुटफुट व्यहोरेका फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक मोर्चामा सामेल छन्।

छुट्टै अस्तित्व

जसले गर्दा यादव मोर्चा अन्तर्गत रही समितिमा जाने सम्भावना न्युन देखिन्छ।

नेता त्रिपाठीले भने, "उहाँ पहिलेदेखि मोर्चामा रहनु भयो, पछि छोडेर जानु भयो, मोर्चामा धेरैको आउने जाने क्रम जारी छ त्यसैले उहाँको छुट्टै अस्तित्व स्वीकार गर्न हामीलाई कुनै आपत्ती छैन।"

सरकार र सरकार पक्षका निम्ति असन्तुष्ट दलहरुलाई चुनावमा सामेल गराउन यादव नेतृत्वको फोरमका मागका तुलनामा नेकपा-माओवादीका माग कडा खालका देखिन्छन्।