एमाले सिद्धियो, कांग्रेससँग टक्कर: प्रचण्ड

  • 22 एप्रिल 2013
प्रचण्ड
Image caption गिरिजाप्रसाद कोइरालाको निधनयता प्रचण्ड नेपाली राजनीतिलाई सर्वाधिक प्रभावित पार्ने सक्ने नेता ठानिन्छन्

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आउँदो संविधानसभा चुनावमा नेपाली कांग्रेस र आफ्नो दलले नेतृत्व गर्ने दुई धारबीच प्रतिष्पर्धा हुने बताएका छन्।

बर्दियामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमाले समाप्त भएको धारणा व्यक्त गरेका थिए।

उनले भने, "नेकपा एमालेले कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गर्नुको कारण उ सकिएरै हो, अव एमाले रहेन, एउटा कित्ताको नेतृत्व कांग्रेस र अर्को कित्ताको अगुवाई हामीले गर्ने हो।"

पृथ्वीनारायण

माओवादीभित्र विवादको विषय रहेको पृथ्वीनारायण शाहले गरेको राज्य एकिकरण जायज रहेको प्रचण्डको मत थियो।

उनीपछि अव आफूले देशलाई एकताबद्ध गराएर लग्ने प्रचण्डले दावी गरे।

उनले भने, "भुरे-टकुरे राज्यका बेला जनता खुशी थिएनन्, त्यो पृष्ठभूमिमा पृथ्वीनारायण शाहले दमन गरेर मुलुक एकिकरण गरेका थिए, अव हामी विचार र सिद्धान्तको आधारमा देश र जनतालाई एकतावद्ध पार्छौं।"

गफाडी

आफ्नो दलबारे प्रचण्डले गरेको टिप्पणीबारे प्रतिकृया दिँदै नेकपा एमालेका नेता केपी शर्मा ओलीले उनलाई गफाडीको संज्ञा दिए।

नेता ओलीले बीबीसीसँग भने, "गफाडीहरुका गफबारे प्रतिकृया दिएर सम्भव हुँदैन्, कस्को के हालत हुन्छ भन्ने कुरा त चुनावमा थाहा हुन्छ।"

उनले एकिकृत नेकपा माओवादीले जातीय र साम्प्रदायिक ढंगले देशभित्रको सामाजिक सदभाव र भातृत्व भंग गर्ने प्रयास गरेको आरोप लगाए।

उनले प्रश्न गरे, "विभिन्न जातजाती, वर्ग, समुदाय र धर्मावलम्वीबीचको सदभाव र सौहार्दपूर्ण एकतामा खलल पुर्‍याउने त्यस्ता तत्वले के को आधारमा मुलुकलाई एकतावद्ध गर्ने?"

चुनावको तीथि नतोकिए पनि नेताहरुबीच बढ्न थालेको जुहारीले चुनावी वातावरणको झल्को दिन थालेको छ।