'माओवादीसँगको तालमेल कुरामै सीमित'

  • 27 एप्रिल 2013
निर्वाचन आयोग
Image caption चुनावको तिथि नतोकिए पनि दलहरुबीच ध्रुविकरणको संकेत देखा पर्न थालेको छ

तराई केन्द्रित दलका एकजना वरिष्ठ नेताले आगामी संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीसँग गठबन्धन बनाएर जाने मनस्थिति बनाइ नसकेको जनाएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले बीबीसीसँग कुरा गर्दै चुनावी सहाकार्यबारे भएको कुरा अघि नबढेको बताएका हुन्।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले हालै तराईका दल सहितको गठबन्धन बनाएर चुनावमा जाने योजना सार्वजनिक गरेका थिए।

तराई केन्द्रित दलको मोर्चाले संघीयता र पहिचानको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेभन्दा माओवादीलाई नै नजिक मान्दै आएको छ।

'कुरामै सीमित'

नेता ठाकुरका अनुसार चुनावी सहाकार्यबारे अघिल्लो सरकारमा रहेका दलहरुको गठबन्धनमा कुरा उठेको हो।

उनले भने, "चुनावी तालमेलबारे सैद्धन्तिक रुपमा कुरा उठेको हो, तर अघि बढेको छैन्, कुरामै सीमित छ।"

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही दलका प्रमुखहरु मन्त्रीको रुपमा आलोचित बनेका बेला नेता ठाकुरले मोर्चाको भावी रणनीति बनाउन निर्णायक भूमिका निर्वाह गर्न सक्ने कतिपयले बताउने गरेका छन्।

तर उनी आफ्नो पुरानो दल नेपाली कांग्रेस वा माओवादीसँगको निकटता वा दुरीबारे खुल्न चाहेनन्।

मुल्याङ्कन

माओवादीप्रति मोर्चाको पुरानो मूल्याङ्कनको प्रसंग खोतल्दा भने उनले उसँगको निकटता लुकाउन चाहेनन्।

नेता ठाकुरले भने, "मधेस, संघीयता, पहिचान र समावेशी लगायतका विषयमा हामी र माओवादीबीच निकटता पक्कै पनि छ।"

मोर्चाले संविधानसभा रहँदा लोकतन्त्र र बहुलवादको हकमा कांग्रेस र एमालेलाई नजिक मान्ने गर्दथ्यो।

उनले 'माओवादी चुनावी प्रकृयाबाट सरकारमा समेत आएर लोकतान्त्रिकरण भइरहेको' बताउँदै उसबेलाको जस्तो अविश्वास बाँकी नरहेको औंल्याए।

त्यति भन्दा भन्दै पनि उनले माओवादीसँगको सम्भावित गठबन्धनबारे प्रष्ट बताउन चाहेनन्।

तर काठमाण्डूस्थित बीबीसीका एकजना सम्बाददाता भन्छन्, "उनका विचारले आपसी सहकार्यका निम्ति मुख्य चुनौति हुन सक्ने वैचारिक अविश्वास नै टरेपछि नीति र कार्यक्रम मिल्ने ती दुई पक्ष त्यति टाढा छैनन् भन्ने संकेत दिएको छ।"