'लडाकु उपसेनानीबाट केही महिनामै कर्णेल'

  • 28 एप्रिल 2013
सैनिक अभ्यास
Image caption सेनाले मुलुकको हितको निम्ति भन्दै समायोजनका निम्ति लचिलो बनेको बताउने गरेको छ

समायोजन रोजेका एकीकृत नेकपा माओवादीका पूर्व लडाकुहरुमध्ये एकजनाले नेपाल सरकारको शाखा अधिकृत सरहको नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) बनेको केही महिनाभित्रै राजपत्राङ्कित प्रथम श्रेणी अर्थात सहसचिव सरहको महासेनानी (कर्णेल) दर्जा पाउने भएका छन्।

राजनीतिक सहमति अनुसार पूर्व लडाकुले त्यस्तो अवसर पाउन लागेको नेपाली सेनाले जनाएको छ।

समायोजन रोजेका माओवादीका करीब १४ सय पूर्व लडाकुहरुले नेपाली सेनाको तालिम लिइरहेका छन्।

सेनाले आइतबार एउटा पत्रकार सम्मेलन गरी उनीहरुलाई दिइने दर्जाबारे पहिलो पटक जानकारी दिएको हो।

'एकै पटक हैन'

पूर्व-लडाकुलाई महासेनानी बनाउने राजनीतिक निर्णय भए पनि अधिकृत तालिम पुरा गरे लगत्तै एकै पटक त्यो पद दिइने छैन।

सेनाले दिएको जानकारी अनुसार अधिकृत तालिममा सहभागी ७१ जना पूर्व लडाकु सबैलाई नौ महिने तालीम पुरा गरेपछि उप-सेनानी (लेफ्टिनेन्ट) दर्जा दिइने छ।

त्यसपछि तीन महिने विशेष तालिम गराएर सह-सेनानी (क्याप्टेन) र सेनानी (मेजर) मा बढुवा गरिने छ।

ती मध्ये तीनजनालाई गणपति तालीम दिएर प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बनाइने छ।

सैनिक प्रवक्ता सहायक रथी सुरेश शर्माले भने, "गणपति तालिमपछि प्रमुख सेनानी बनेका तीनजना मध्ये एकजनालाई महासेनानीमा बढुवा गर्न सरकार समक्ष सिफारिस गरिने छ।"

अर्को वर्ष

उक्त निर्णय लिँदा राष्ट्रसंघीय मिसन अनमिनले गरेको प्रमाणीकरण, माओवादी सेनामा उसको वरिष्ठता लगायतलाई आधार बनाइने सेनाको भनाइ छ।

पूर्व लडाकू कमाण्डर यामबहादुर अधिकारीले उक्त अवसर पाउने बताइन्छ।

अधिकृतमा छानिएका लडाकुको नौ महिने आधारभूत तालिम सकिन करीब तीन महिना बाँकी छ।

तर उनी कम्तीमा अर्को वर्ष नलाग्दासम्म महासेनानी पदमा पुग्ने छैनन्।

केही सेनानीहरुले तीन महिने विशेष तालिम र त्यसपछि चार महिने गणपति तालिम गर्नु पर्ने छन्।

आधारभूत तालीम सकिए लगत्तै ती तालिम अवसर पाएमा माओवादीका एकजना पूर्व कमाण्डर छिटोमा २०७१ सालको वैशाख-जेठमा नेपाली सेनाको महासेनानी हुनेछन्।

माओवादी लडाकूलाई समावेश गरि गठन गरिएको महानिर्देशनालयको नेतृत्व उपरथी (मेजर जनरल) रामकृष्ण अधिकारीले गर्दैछन्।

यसअघि माओवादीले सकेसम्म त्यसको नेतृत्व नभए त्यसपछिको दोश्रो पद माग गर्दै आएको थियो।