‘मंसीरभित्र चुनावमा भारतीय नेताहरुको जोड’

  • 30 एप्रिल 2013
इन्डिया गेट
Image caption दिल्लीमा प्रचण्ड भारतीय नेता तथा अधिकारीहरुसंगको भेटमा व्यस्त रहे

चार दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भारतीय नेता तथा अधिकारीहरु नेपालमा मंसिरमा चुनाव भएको हेर्न आतुर रहेको आफूले पाएको बताएका छन्।

चीन भ्रमणमा गएर फर्किएको केही दिनमै दिल्ली पुगेका प्रचण्डले भारतीय नेताहरुले आफूसंगको भेटमा नेपालमा राजनीतिक स्थीरता र आर्थिक विकासमा जोड दिएको बताए।

नेपाल फर्कनुअघि उनले भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसंग भेट गरेका थिए।

भ्रमण सकेर काठमाण्डू उत्रिए लगत्तै उनले भारतीय नेताहरुले नेपालमा मंसिरमा चुनाव भएको हेर्न चाहेको बताएको प्रतिक्रिया संवाददाताहरुलाई दिएका थिए।

‘समयमै होस्’

“सबै नेताहरुको चाहाना एउटै पाएँ: नोभेम्बरमा अर्थात् मंसीरभित्र चुनाव होस्, चुनाव समयमै होस्।”

दिल्लीस्थित हाम्रा सहयोगी महेश आचार्यका अनुसार भारतीय अधिकारीहरुसंगको भेटका क्रममा चीन, नेपाल र भारतबीच त्रिदेशीय साझेदारीबारे कुराकानी गरेका प्रचण्डले भारतीय प्रधानमन्त्री सिंहसंगको भेटमा भने त्यसबारे कुरा नउठाएनन्।

बरू ठूला जलविद्युत आयोजना तथा लुम्बिनीको विकासमा नेपाल भारतको सहकार्य विस्तार हुनुपर्ने र त्यसमा चीनलाई समेत सहभागी गराउन सकिनेबारे सिंहसंग प्रचण्डको कुराकानी भएको बताइएको छ।

दिल्लीमा प्रचण्डले विदेश मन्त्री सलमान खुर्शीद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रंजन मथाई, जनता दल युनाईटेडका अध्यक्ष शरद यादव, कंग्रेस आईका नेता करण सिंह, नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका डीपी त्रिपाठी लगायतका नेताहरुसंग भेटघाट गरेका थिए।

तर कंग्रेस आईकी नेतृ सोनिया गान्धीसंग उनको भेट हुन सकेन।