नयाँ ढंगले भ्रष्टाचार नियन्त्रण: कार्की

  • 8 मे 2013
सपथ ग्रहण
Image caption पदभार ग्रहण गर्ने बित्तिकै कार्कीले आफ्नो योजना सार्वजनिक गरेका छन्

चौतर्फी विरोध झेल्दै नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आउँदा दिनमा पारदर्शी र नयाँ ढंगले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताएका छन्।

शाहीकालीन मुख्यसचिव रहेका कार्कीविरुद्ध सडकमा चर्का नाराबाजी चल्दै गर्दा उनलाई राष्ट्रपति निवासमा कायममुकायम प्रधानन्यायाधीशले अख्तियार प्रमुखको शपथ दिलाएका थिए।

शपथपछि आफ्नो कार्यभार सम्हाल्दै कार्कीले आफ्ना सहकर्मीहरुलाई जनताले अनुभव गर्न सक्ने गरी आफ्ना काम कारवाही अघि बढाउन निर्देशन दिए।

तर नागरिक समाजका अगुवाहरुले कार्कीको नियुक्तिको विरोध जारी राखिने बताएका छन्।

शपथ ग्रहण

राष्ट्रपति रामवरण यादवको उपस्थितिमा कायममुकायम प्रधानन्यायधीश दामोदरप्रसाद शर्माले कार्कीलाई बुधबार अख्तियारको प्रमुख आयुक्त पदको शपथ ग्रहण गराएका थिए।

शर्माले अरु दुई संवैधानिक निकाय लोक सेवा आयोगको प्रमुखमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानुप्रसाद आचार्यलाई शपथ दिलाएका थिए।

सोही समारोहमा कार्कीले अख्तियारका आयुक्तमा केशव बराललाई पनि शपथ दिलाएका थिए।

लगत्तै आयोगमा पुगेर पद बहाली गर्दै नवनियुक्त प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो योजना सहकर्मीहरुसामु प्रस्तुत गरेका थिए।

उनले राम्रो कामको थालनी आफैले गर्ने बताए।

कार्कीले भने, “म आफुबाट नै यो कुराको प्रारंभ गर्न चाहन्छु, आयोगले बनाउने आचार संहिता पालना गर्ने प्रतिबद्धता सबभन्दा पहिला म व्यक्त गर्न चाहन्छु।”

कार्कीको शपथ ग्रहण हुँदै गर्दा राष्ट्रपति निवास बाहिर उनको नियुक्तिको विरोधमा नाराबाजी गरिरहेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो।

इन्टरनेटका सामाजिक संन्जालहरुमा कार्कीको नियुक्तिको विरोधमा कैयौ प्रयोगकर्ताहरुले कालो पोतेका थिए।

तर आयोगको स्वागत कार्यक्रममा बोल्दै कार्कीले आफुविरुद्धका आलोचनालाई आफुले सकारात्मक सल्लाह र सुझावको रुपमा लिएको प्रतिक्रिया दिएको आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

लामो समयदेखि प्रमुख विहीन रहंदै आएको अख्तियारको बागडोर सम्हाल्दै कार्कीले आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्न भन्दै प्राथमिकताको एक सूची अघि सारेका छन्।

तर कार्कीको खरो विरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुले उनलाई सिफारिस गर्ने प्रमुख राजनीतिक शक्तिहरुको नै कडा आलोचना गरेका छन्।

‘नालायक’

बुधबार दिउंसो नेपाली कांग्रेसको मुख्यालयमा धर्ना दिएका नागरिक समाज सदस्यहरुले बिहीबार नेकपा एमालेको कार्यालयमा धर्ना दिने नागरिक समाजका एकजना अगुवा पत्रकार कनकमणि दीक्षितले बताए।

“जनभावनाको कदर नगर्ने नालायक दलहरुले कार्कीलाई अख्तियारको प्रमुख बनाइ छाडे, तर हाम्रो विरोध र धर्ना रोकिंदैन,” दीक्षितले भने।

कार्कीलाई सिफारिस गर्ने उच्चस्तरीय राजनीतिक समितिमा रहेको नेकपा एमालेले उनको नियुक्तिपछि त्यसको विरोध गर्दै एक विज्ञप्ती जारी गरेको छ।

अन्य ठूला दल नेपाली कांग्रेस र एकीकृत माओवादीका नेताहरुले कार्कीबारेको विवादलाई छाडेर चुनावको मिति र वातावरण बनाउनेबारे छलफल गरेको ती दलका नेताहरुले संवाददाताहरुलाई बताएका छन्।