‘जेठ १५सम्ममा चुनावको मिति घोषणा होला’

  • 14 मे 2013
मोहन वैद्य
Image caption वैद्यले आफ्नो दलले अघि सारेका शर्तहरु पुरा भए सरकारसंग वार्ता हुने बताएका छन्

चुनावको लागि वातावरण सहज बनाउने विषयमा मंगलबार अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्षसंग छलफल गरेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आँउदा दिनमा समिति र सरकार दुबैले असन्तुष्ट दलहरुलाई मनाउने प्रयास गर्ने बताए।

तर चुनाव वहिष्कार गर्ने धम्की दिइरहेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले, उनकै शब्दमा, यथास्थितिमा सरकारसंग वार्ता हुन नसक्ने दोहोर्‍याएका छन्।

चुनावको मितिबारेको अन्यौलका माझ निर्वाचन सम्वन्धी अध्यादेशका प्रावधानबारे ठूला दलबीच नै मतभेद गहिरिरहेका बेला मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले ती विषयमा नेकपा एमालेका नेताहरुसंग छलफल गरेका थिए।

खनालले निर्वाचन कानुनबारेको विवाद हल गर्दै, असन्तुष्ट दलहरुलाई मनाउन कम्तिमा दुई साता लाग्ने र त्यसपछि मात्र निर्वाचनको मिति घोषणा हुन सक्ने बीबीसीलाई बताए।

‘गृहकार्य’

“दुई साता जति अलिकति गृहकार्यमा लाग्नु पर्ने छ, त्यसपछि जेठ १५ गतेसम्म चुनावको मिति घोषणा होला भन्ने मलाई लाग्छ।”

कार्तिकको अन्त्य वा जेठको शुरुमा हुने भनिएको दोस्रो संविधानसभाको निर्वाचनबाट हालैको सहमतिमा उल्लेख गरिएझै ४९१ सदस्य चुन्ने वा पुरानो संविधानसभामा झै ६०१ चुन्ने भन्ने विवादमा ठुला दल अल्झिएका छन्।

समानुपातिक चुनावतर्फ न्युनतम मतसंख्या अर्थात् थ्रेसहोल्ड् राख्ने कि नराख्ने भन्ने अर्को विवाद छ।

सहज चुनावको लागि सबै भन्दा ठूलो चुनौति त नेकपा-माओवादी लगायतका दलका क्रियाकलापले सृजना गरेको देखिन्छ।

तर मंगलबार धनगढी पुगेका माओवादी अध्यक्ष बैद्यले आफ्ना मागहरु पुरा भए मात्रै समस्या समाधान हुन सक्ने बताए।

शर्तहरु

“उहाँहरुले निर्णय गर्दै जाने हामीले मान्दै जाने हुन सक्दैन।”

“हामी वार्ताका विरोधी होइनौं तर पहिला मागहरु पुरा हुनु पर्छ।”

वार्ताको लागि वैद्यले गत साता मात्रै २५ बुँदे वाधा अड्काउ फुकाउ आदेशको खारेजी, नागरिकता कानुनमा भएका संशोधनको खारेजी तथा अख्तियार प्रमुखको नियुक्ति बदर हुनुपर्ने पूर्वशर्त राखेका थिए।

खनालले चाहीं समिति र सरकार दुबैको असन्तुष्ट दलहरुसंगको वार्ताको प्रयास जारी रहने बताए।

‘टुंगो’

“कोसिस गर्नु पर्छ अब सहमति हुनै नसक्ने हो भने त्यही अनुसारको टुंगो लगाएर जानु पर्छ।”

सरकारले थालेका वार्ता प्रयासहरु पूर्णतया सार्थक हुन नसकेको बेला सोमबार बसेको चार राजनीतिक शक्ती सम्मिलित उच्चस्तरिय राजनीतिक समितिको वैठकले असन्तुष्ट दलहरुलाई मनाउन समिति आफै लागिपर्ने बताएको थियो।

समितिको अर्को वैठक जेठ दुई गते बिहिबार बस्ने कार्यक्रम छ।