चुनावबारे उच्चस्तरीय राजनीतिक समितिले सरकारसंग वार्ता गर्ने

  • 24 मे 2013
अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी
Image caption चुनावको तिथिमिति तोक्न ढिलाइ भएको भन्दै चुनावी सरकारको आलोचना बढेको छ

चुनावी कानुनका प्रस्तावित प्रावधानमा दलहरुबीचको विमति तथा मिति घोषणामा भएको ढिलाइका बीच सरकारलाई परामर्श दिन भनेर गठित चार प्रमुख राजनीतिक शक्तिहरु संलग्न उच्चस्तरीय राजनीतिक समितिले आईतबार सरकारसंग कुराकानी गर्ने निर्णय गरेको छ।

दलहरुबीच चुनावी कानुनका प्रस्तावित कतिपय प्रावधानहरुमा सहमति नबनेपछि सरकारले संविधानसभा सदस्य निर्वाचन ऐन संशोधन गर्न निर्वाचन आयोगद्वारा प्रस्तावित अध्यादेशबारे कुनै निर्णय लिन सकेको छैन।

टुंगो

पटक, पटकको द्वीपक्षीय तथा बहुपक्षीय बैठकहरुपछि समेत खासगरी संविधानसभा सदस्य संख्या ६०१ राख्ने वा घटाउने र समानुपातिकतर्फ निर्वाचित हुन न्यूनतम मतसंख्या अर्थात् थ्रेसहोल्डको व्यवस्था राख्ने कि नराख्ने जस्ता विषयमा दलहरुबीच सहमति बनेको छैन।

त्यसैले अब सरकारसंग उच्चस्तरीय राजनीतिक समितिमा संलग्न एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु आईतबार संयुक्त बैठक बसेर टुंगोमा पुग्ने निर्णय भएको शुक्रबारको बैठकमा सामेल नेपाली कांग्रेसका एकजना नेता मिनेन्द्र रिजालले बताए।

“हामीहरुका बीचमा सहमति भएन भने सहमति भएन भनेर बसिराख्ने कुरा त होइन नि। त्यसैले स्वाभाविकरुपले सरकारसंग कुरा गरौं, सरकारले के सोच्या छ हामीले के सोच्या छौं, ती सबै एकैठाउँ राखेर एउटा टुंगोमा पुग्नु पर्दछ भन्ने हाम्रो सोचाइ हो,” रिजालले भने।

निर्णय

यसअघि सरकारका प्रवक्ताले दलहरुले विवाद समाधान गर्न नसके सरकारले आफ्नै ढंगको निर्णय गरेर चुनावी कानुनलाई सकेसम्म छिटो टुंग्याउने अवस्था आउन सक्ने बताइसकेका छन्।

के विवादित विषयमा सरकारले आफैं निर्णय गरोस् भन्ने निष्कर्षमा दलहरुपनि पुगेका हुन्? भन्ने प्रश्नमा रिजालले भने, “सरकारसंग उच्चस्तरीय राजनीतिक समितिको बैठक पछाडिनै यसबारे टिप्पणी गर्नु उपयुक्त हुन्छ। मलाई विश्वास छ समिति र सरकारबीचको आईतबारको बैठकपछि एउटा निर्णयमा मुलुक अगाडि बढेर जान सक्ला।”

तर प्रस्तावित केही चुनावी कानुनका प्रावधानमा परस्पर विरोधी अडान राख्दै आएका दलहरुले आईतबारको बैठकमा अडानहरु त्यागेर सहजै समाधानमा पुगिहाल्ने सम्भावना कमै रहेको कतिपय विश्लेषकहरुको भनाच छ।