सगरमाथाको प्रथम आरोहणको ६०औं वर्षगाँठ

  • 30 मे 2013
सगरमाथा
Image caption सगरमाथामा बढ्दो भीडलाई व्यवस्थापन गर्ने संकेत सरकारले गरेको छ

तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्डका एडमन्ड हिलारीद्वारा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको साठी‌औं वर्षगाँठको अवसरमा नेपालमा पुराना तथा प्रख्यात पर्वतारोहीहरुको सम्मान गरियो।

बुधबार काठमाण्डूमा आयोजित एक विशेष कार्यक्रममा किर्तिमानधारी पर्वतारोहीहरुलाई विशेष बग्गीमा राखी शहर परिक्रमा गराइएको थियो।

कार्यक्रममा तेन्जिङ-हिलारी आरोहण दलमा सहभागी ८१ वर्षिया कान्छा शेर्पा र विश्वका सबै आठ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने रेनहोल्ड मेसनर लगायतका किर्तिमानधारी पर्वतारोहीहरु सहभागी थिए।

बढ्दो भींड

तेन्जिङ र हिलारीपछि ४५ सय भन्दा बढी आरोहीहरुले सगरमाथाको आरोहण गरेको बताइन्छ।

यसपाली मात्रै पाँच सय जना भन्दा बढीले सगरमाथा आरोहण गरे।

सगरमाथा क्षेत्रमा खासगरि उच्च भू-भागमा वातावरण प्रदुषण नघटेको चिन्ताका माझ सर्वोच्च शिखरमा बढ्दो भींड् नियन्त्रण गर्नु पर्ने आवाजहरु उठिरहेका छन्।

बीबीसीसंग कुरा गर्दै तेन्जिङ नोर्गेका छोरा जाम्लिङ तेन्जिङले सगरमाथा आरोहण व्यवस्थित गरिनु पर्ने बताए।

"हिमाल र पहाडको सम्मान हुनुपर्छ, अनुभव नभएका मान्छेहरुलाई सगरमाथा आरोहण गर्न दिनु हुँदैन।"

सोही अवसरमा सगरमाथा आधार शिविरदेखि नाम्चेबजारसम्म एभरेष्ट् म्याराथन दौड समेत आयोजना भयो।

देश विदेशका गरि सय भन्दा बढी धावक सहभागी सो दौड ३१ वर्षिय रामकुमार राजभण्डारीले ३ घन्टा ५९ मिनेट ४५ सेकेन्डमा पार गरि एक लाख रुपैयाँ नगद सहित प्रथम पुरस्कार पाउन सफल भए।