सगरमाथा पुरै फोहरमुक्त नभएकोमा चिन्ता

  • 31 मे 2013
खुम्बु क्षेत्र
Image caption सगरमाथाको तल्लो क्षेत्र चाँही तुलनात्मक रुपमा निकै सफा भएको बताइन्छ।

विगत केही वर्षयता वर्षेनी जस्तो सफाई अरोहरणहरु आयोजना गरिएको भएपनि सर्वोच्च शिखर सगरमाथाको खासगरि ६ हजार मिटर भन्दा माथिको उचाइमा फोहरमैला थुप्रिने क्रम जारी रहेको पर्वतारोही तथा अधिकारीहरुले बताएका छन्।

केही वर्षअघि कतिपयले “विश्वको सबैभन्दा अग्लो उचाइको फोहर डम्पिङ क्षेत्र”को संज्ञा दिएको सगरमाथा क्षेत्र हालैका वर्षहरुमा तुलनात्मक रुपमा सफा भएको उनीहरुको भनाइ छ।

तर हिमनदी वरपर मानवजन्य र अन्य फोहर निमिट्यान्न हुन नसकेकोले त्यस्को असर हिमनदीबाट तल्लो तटबाट बहने नदीसम्म पर्न सक्ने चिन्ता बढ्दो छ।

६० वर्ष अघि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि यस वर्षसम्म ४५ सय मानिसले सगरमाथा आरोहण गरिसकेको पर्यटन मन्त्रालयको भनाइ छ।

यो बर्ष पनि ५ सय भन्दा बढी मानिस शिखरमा पुगे।

तिनका सहयोगी सहित एक हजारजति मानिसले दुई महिना भन्दा बढि समय आधार शिविरमा त्रिपालमा डेरा जमाए।

‘मेला’

त्यो भीड देखेर आफुलाई दु:ख लागेको तेन्जिङ नोर्गेका छोरा जाम्लिङ तेन्जिङ नोर्गेले केही दिनअघि बीबीसीलाई बताए।

“केही दिन अघि म बेस क्याम्प पुग्दा त त्यहाँ मेला लागेको रहेछ, मलाई ठीक लागेन किनभने हिमालमा हुनै नपर्ने मान्छेहरु पनि त्यहाँ बसिरहेका थिए।”

एकजना आरोहीलाई २५ जना सहयोगीहरु सहित प्रशस्तै उपकरण चाहिने बताइन्छ।

त्यसो त आरोहण सिजन सकिने वित्तिकै अधिकांश फोहरमैला व्यवस्थापन गरिन्छ। तर पनि सगरमाथा क्षेत्रमा खासगरि ६ हजार मिटर माथि मानवजन्य र अन्य फोहरको समस्या हटेको छैन।

गत मे १९ तारिखमा सगरमाथाको सफल आरोहण गरेर फर्किएका डाक्टर निमा नामग्याल शेर्पाले माथिल्लो क्षेत्रमा पनि निक्कै फोहर देखेको बताए।

“सात हजार मिटरदेखि माथि पनि प्लास्टिक, टेन्ट र म्याटको टुक्राहरु खालि सिलिन्डरहरु छरिएको देखें।”

पर्वतारोहीहरुका अनुसार हिउँ पग्लिएपछि वर्षौअघि देखिका फोहर र मृत्यु भएका आरोहीहरुका शवहरु देखिन थाल्छन्।

सगरमाथामा बढ्दो प्रदुषणबारे चिन्ता बढ्न थालेपछि सरकारले २० वर्षअघि आरोहीहरुले आफुले निकाल्ने सबै फोहर फिर्ता ल्याउनु पर्ने जस्ता नियम बनायो।

संगसंगै सफाई आरोहणहरु हुन थाले र आधार शिविर वरपरबाट हजारौं किलो फोहरमैला तल झारिन थालियो।

यसपाली नेपाली सेना र भारतीय सेनाको आरोहण दलले ४ हजार किलो फोहर तल झारेको बताइएको छ।

तर डाक्टर निमा नामग्याल शेर्पाका अनुसार हिमनदी वरपर मानवजन्य फोहरको समस्या छ।

“हिउँमा खाल्डो बनाएर दिसा गर्ने जताततै पिसाव गर्ने समस्या रहेछ।”

सगरमाथा राष्ट्रिय निकुन्जका वार्डेन रामचन्द्र कँडेलले माथिल्लो क्षेत्रमा हिमनदी वरपर फोहरमैला नियन्त्रण नभए त्यस्को असर तल्लो तटमा बहने नदीमा समेत पर्न सक्ने चिन्ता व्यक्त गरे।

सगरमाथालाई प्रदुषण मुक्तगर्न २१ वर्षअघि गठित सगरमाथा प्रदुषण नियन्त्रण समितिको नाम्चेस्थित कार्यालयले हिमालबाट फोहर आए नआएको कडा निगरानी गर्ने गरेको छ।

‘जनचेतना’

समितिका अध्यक्ष आङदोर्जे शेर्पाले माथिल्लो उचाइमा सफाइ अनुगमन गर्ने कार्य चुनौतिपुर्ण रहेको बताए।

“सरकार र सबैले निरन्तर अनुगमन गर्न पर्छ र सबै भन्दा ठूलो कुरा आरोहीहरुमाझ चेतना जगाउनु पर्‍यो।”

केन्द्रबाट निगरानी गर्ने तथा आरोहण अनुमति दिने पर्यटन मन्त्रालयको पर्वतारोहण माहाशाखाले प्रत्येक आरोहण दलले सगरमाथाबाट फोहर फिर्ता ल्याएको पुष्टी नगरेसम्म प्रति दल चार हजार डलर दरले लिइने धरौटी रकम फिर्ता गर्दैन।

व्यवसायी तथा नेपाल पर्वतारोहण संघका पुर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार माथिल्लो क्षेत्रलाई मानवजन्य फोहर मुक्त बनाउनको निम्ति दिसा पिसाव नष्ट गर्ने एउटा विशेष प्रकारको ब्याग अनिवार्य गर्नु पर्छ।

सगरमाथाको माथिल्लो क्षेत्रमा अझै पनि वर्षौं अघिदेखिका हजारौं किलो फोहर हिउँ वा बरफले छोपिएको अवस्थामा हुनसक्ने आरोहीहरु बताउँछन्।

अनि सगरमाथामा जस्तै पर्वतारोहीको भीड हुने खु्म्बु क्षेत्रकै आमादब्लम हिमालमा पनि प्रदुषणको समस्या बढिरहेको पर्वतारोहीहरु बताउँछन्।