महारानीद्वारा बीबीसीको नयां मुख्यालयको उद्घाटन

  • 7 जुन 2013
महारानी एलिजाबेथ
Image caption बीबीसीमा महारानीको भव्य स्वागत गरिएको थियो

ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले प्रत्यक्ष संबोधन गरी मध्य लण्डनस्थित बीबीसीको नयां मुख्यालयको औपचारिक उद्घाटन गरेकी छिन्।

शुक्रबार एउटा रेडियो स्टुडियोबाट बोल्दै महारानीले बीबीसीको नयां कार्यालयले भविष्यमापनि राम्रोसंग सेवा दिने अपेक्षा व्यक्त गरिन्।

महारानी एलिजाबेथले प्रत्यक्ष सांगीतिक प्रस्तुति सुन्नुकासाथै बीबीसीका समाचारकक्षहरुको भ्रमण गरेकी थिइन्।

महारानीको भ्रमणको बीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो भने बीबीसीमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले उत्साहपूर्वक उनको स्वागत गरेका थिए।

संझना

महारानी एलिजाबेथले राजकुमारीको रुपमा आफ्ना माता, पिता तथा बहिनीसंग दोश्रो विश्व युद्ध शुरुहुनु केही अघि बीबीसीको ब्रोडकास्टिङ हाउसको भ्रमण गरेको संझना गरिन्।

सन् १९५३ मा आफ्नो राज्याभिषेक अघि आफ्ना श्रीमानसंग फेरि बीबीसी आएको पनि उनले बताइन्।

६० बर्षअघि महारानीको राज्याभिषेकको समाचार वाचन गरेकी बीबीसीकी एकजना भूतपूर्व पत्रकार पनि बीबीसीमा महारानीको भ्रमण हेर्न आएकी थिइन्।

महारानीका श्रीमान राजकुमार फिलिप पेटको शल्यकृयाकालागि एउटा अस्पतालमा भर्ना गरिएकाले महारानी एक्लैले बीबीसीको भ्रमण गरेकी थिइन्।

राजकुमार फिलिप आउंदो सोमबार बयान्नब्बे बर्षका हुनेछन्।

बीबीसी ट्रष्टका अध्यक्ष लर्ड प्याटनले राजकुमार फिलिपको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

न्यु ब्रोडकास्टिङ हाउस

अक्सफोर्ड सर्कस स्टेशनबाट नजीकै रहेको बीबीसीको न्यु ब्रोडकास्टिङ हाउस पुरानो ब्रोडकास्टिङ हाउससंगै जोडिएको छ।

गत मार्च महिनामा ह्वाइट सिटीस्थित टेलिभिजन सेन्टर बन्द गरिए पछि बीबीसीका तीनवटा चौबीसघन्टे टेलिभिजन समाचार च्यानलहरु पनि यही भवनबाट प्रसार हुंदै आएका छन्।

झण्डै ६ हजार कर्मचारीहरु कार्यरत नयां भवनबाट बीबीसीका तीसवटा भन्दा बढी घरेलु तथा विश्व सेवाका रेडियो स्टेशनहरु र बीबीसीका सबै मुख्य समाचार बुलेटिनहरु प्रसार भैरहेका छन्।