मण्डेलाको स्वास्थ्यमा केही सुधार:जुमा

  • 12 जुन 2013
राष्ट्रपति ज्याकोब जुमा
Image caption जुमाले उपचारमा संलग्न चिकित्सकहरुले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रंशसा गरेका छन्

प्रिटोरियास्थित एक अस्पतालको सघन कक्षमा पांच दिनदेखि रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले तुलानात्मक रुपमा अहिले उपचारप्रति राम्रो प्रतिक्रिया जनाइरहेको त्यहाँका राष्ट्रपति ज्याकोब जुमाले उल्लेख गरेका छन्।

दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न नेत्तृत्वदायी भूमिका निर्वाह गरेका यी ९४ वर्षिय नेतालाई फोक्सोको संक्रमण फेरि बल्झिएपछि शनिवार अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्यमा प्रगति

आफ्ना पूर्वज नेताको पछिल्लो स्वास्थ्य अवस्थाबारे बुधवार संसदमा जानकारी दिदैं जुमाले “कठीन केही दिन” पछि मण्डेलाले देखाएको प्रगतिबाट आफू खुशी भएको बताए। जुमाले उपचारमा संलग्न चिकित्सकहरुले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रंशसा पनि गरे। मण्डेला आफै पनि बलियो आत्मबल भएका “असल योद्धा” भएकाले स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो।

बुधवार मण्डेलाकी श्रीमति, छोरी र दुई नातिनीहरुले अस्पताल पुगी उनलाई भेटेका छन्। समाचार संस्था एएफपीका अनुसार, मण्डेलाको परिवारले वक्तव्य जारी गरी उनीप्रति देखाइएको चासो अत्यन्तै हृदयस्पर्शी भएको बताएको छ।

यसअघि मंगलवार जुमाले मण्डेलाको अवस्था “अत्यन्तै गम्भीर तर स्थिर” रहेको बताएका थिए। मण्डेलाको पछिल्लो अवस्थाबारे चिकित्सकहरुसंग जानकारी लिएपछि जुमाले राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा त्यस्तो जानकारी दिएका थिए।

व्यापक चासो

Image caption अस्पताल बाहिर मण्डेलाका शुभचिन्तकहरु र संवाददाताहरु ठूलो संख्यामा भेला भएका थिए

जुमाले मण्डेलालाई दक्षिण अफ्रिकाको प्रजातन्त्रका पिताको संज्ञा दिदै उनका निम्ति प्रार्थना गर्न आग्रह गरे। मंगलबार मण्डेलालाई हेर्न उनकी पूर्व पत्नी र केही नातेदारहरु अस्पताल पुगेका थिए। अस्पतालको सुरक्षा व्यवस्था पनि कडा तुल्याईएको छ। अस्पताल बाहिर मण्डेलाका शुभचिन्तकहरु र संवाददाताहरु ठूलो संख्यामा भेला भएका थिए।

गत डिसेम्वरमा मण्डेलालाई १८ दिनसम्म अस्पताल भर्ना गरिएको थियो। सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति रहेका मण्डेलालाई २७ वर्ष लामो जेल जीवनका क्रममा खानीमा काम गर्दा फोक्सोको रोग लागेको थियो। सन् २००४ देखि भने उनले सार्वजनिक जीवनबाट अवकास लिएका थिए।