बाढीले दार्चुलाको सदरमुकाममा क्षति

  • 17 जुन 2013
उद्धार कार्य (स्रोत:नेपाली सेना)
Image caption महाकाली नदीमा पानीको बहाव पांच वर्षयताकै उच्च भएको बताइएको छ

अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले सोमबार दार्चुला सदरमुकाम खंलगाका सरकारी कार्यालयसहित दुई दर्जनभन्दा बढी घरहरु बगाएको छ ।

अन्य कैयौ घर कटानको खतरामा रहेको अधिकारीहरुले बताएका छन्।

भारतीय क्षेत्रमा रहेको धौलिगंगा बांधमा पानी भरिएपछि खोलिएका कारण नेपाली क्षेत्रमा एक्कासी बाढी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए।

महाकाली नदीमा पानीको बहाव पांच वर्षयताकै उच्च भएको बताइएको छ।

क्षति

बिहान नदी नजिकै घांस काट्दै गरेकी एक स्थानीय महिला बाढीले बगाउंदा बेपत्ता भएकी छन्।

अरु थप मानवीय क्षतिको खबर नआएपनि करीब दुई दर्जन घर बगाएको र तीमध्ये ९ वटा सरकारी कार्यालय रहेको प्रजिअ अधिकारीले बताए।

अस्पतालको शवगृह, जनस्वास्थ्य, वन तथा स्थानीय अपि नम्पा संरक्षण क्षेत्र लगायतका ९ वटा सरकारी कार्यालय बगाएको छ।

करीब २४ वटा निजी घरहरु पनि बाढीले बगाएको छ।

करीब ८० लाख रुपियाँको लागतमा हालसालै निर्माण पुरा भएको ५३ किलोवाट क्षमताको कालागाड जलविद्युत आयोजना पूर्ण रुपमा बगाएको अधिकारीले जानकारी दिए।

बाढीले क्षति पुर्‍याउन थालेपछि उद्धारका लागि खलंगास्थित नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली खटिएको छ।

सम्भावित खतरामा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

भारतीय बांध

प्रजिअ अधिकारीले दार्चुला पारि तिरको भारतीय क्षेत्रमा रहेको धौलिगंगा बांध भारतीय पक्षले खोलिदिंदा नेपाली भूभागमा एक्कासी बाढी आएको बताए।

उनले भने,“बांधमुनिबाट एक्कासी भयावह रुपमा बाढी आएका कारण बांधमा पानी भरिएको र बांध खोल्ने क्रममा तल (दार्चुलामा)बाढी आएको भन्ने कुरा आइरहेको छ।”

यता केन्द्रको भनाई भने अर्कै छ।

गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले भारतीय पक्षसंग पानीको बहाव नियन्त्रणका लागि सहकार्य भइरहेको उल्लेख गर्दै धौलिगंगा बांध खोलिएका कारण बाढी आएको भन्ने विवरण अस्वीकार गरे।

उक्त प्रयोजनका लागि काठमाडौंस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए।

भारतमा क्षति

बाढीकै कारण भारतीय क्षेत्रमा पनि ठूलो क्षति भएको छ।

उत्तराखण्ड राज्यमा बाढीमा परी कम्तीमा तीस जनाको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका अधिकारीहरुले जनाएका छन्।

हिन्दू धर्मावम्लबीहरुले उत्तराखण्डको चारधामको यात्रा गर्ने बाटो बर्षाका कारण बन्द हुंदा विभिन्न स्थानमा तीस हजारभन्दा बढी मानिसहरु अलपत्र परेका बीबीसी हिन्दीले जनाएको छ।