बाढीपहिरोका कारण १८ को मृत्यु,२० वेपत्ता

  • 18 जुन 2013
Image caption बाढीप्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखिएको अधिकारीहरुले बताएका छन्

अविरल वर्षापछिको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा १८ जनाको ज्यान गएको र अन्य २० बेपत्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्।

बाढीपहिरोबाट सबैभन्दा प्रभावित सुदूर र मध्यपश्चिमका आधा दर्जनभन्दा बढी जिल्लामा अन्य कैयौं विस्थापित भएका छन्।

केही प्रमुख नदीमा पानीको बहाव बढेपछि वस्तीहरु डुबानमा पर्ने खतरा रहेको भन्दै सरकारले उद्धार लगायतका विपद व्यवस्थापनको तयारी समेत थालेको छ।

मानवीय क्षति

मंगलबार सांझसम्म दैलेख, अछाम, बैतडी, दार्चुला, कञ्चनपुर, कालिकोट, डोल्पा, डडेल्धुरा, हुम्ला र रुपन्देही जिल्लामा गरी बाढीपहिरोका कारण कम्तीमा १८ जनाको ज्यान गएको र २० वेपत्ता भएको गृह मन्त्रालयमातहतको विपद व्यवस्थापन शाखाले जनाएको छ।

अविरल वर्षापछिको पहिरोले मानवीय, र बाढीले, घर लगायतका भौतिक संरचनामा बढि क्षति पुर्याएको छ।

दार्चुला र रुपन्देहीमा बाढीले बगाएर एक,एक जना र बांकी जिल्लामा पहिरोले पुरिएर १६ जनाको ज्यान गएको हो। सबैभन्दा बढी दैलेखमा ७ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमध्ये कति पुरुष, महिला तथा केटाकेटी थिए भन्नेबारे अहिलेसम्म प्रस्ट हुन सकेको छैन।

अर्को घटनामा कालिकोटस्थित सान्नीगाड खोलामा आएको बाढीले बगाएर १३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको शाखाका प्रमुख लक्ष्मी ढकालले बताए।

उच्च बहाव

केही प्रमुख नदीमा पानीको बहाव उच्च भएपछि थप कटान र डुबानको खतरा समेत बढेको छ।

ढकालका अनुसार कर्णाली नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेकाले बर्दिया र कैलालीका केही क्षेत्र जोखिममा परेका छन्।

उनले भने,“पानीको सतह खतराको तहबाट माथि पुगेकाले कैलाली र बर्दियाका तल्लो तटीय क्षेत्रका मानिसहरुका लागि चिन्ताको विषय भएको छ।”

सोमबार खतराको तहभन्दा माथि रहेको बताइएको महाकाली नदीमा भने पानीको बहाव अहिले घटेको छ।

नारायणी नदीमा बहाव बढेपछि गण्डक बांधको १२ नम्बर स्पर भत्कंदा नवलपरासीका केही क्षेत्र जोखिममा परेको ढकालले बताए।

उनले थपे,“गण्डक बांधबाट कटान क्षेत्र ४३ फिट पर छ। यदि स्पर र नेपाली क्षेत्रबीच रहेको अग्लो भूभाग कटान गर्‍यो भने नवलपरासीका ४,५ गाविस डुबानमा पर्नेछन्।”

भौतिक क्षति

बाढीपहिरो प्रभावित क्षेत्रहरुमा हालसम्म सरकारी कार्यालयसहित करीब ११० घर बगाएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

घर नरहेपछि कैयौं विस्थापित भएको बताइएपनि उनीहरुको संख्या भने यकीन हुन सकेको छैन।

विस्थापितहरुलाई मन्दिर तथा अन्य सार्वजनिक स्थलहरुमा राखिएको केन्द्रका एक जना अधिकृत रामहरि शर्माले जानकारी दिए।

कटानको खतरामा रहेका क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा लैजान तीनवटै सुरक्षा अंग, रेडक्रस तथा अन्य स्थानीय संघसंस्था खटिएपनि केही स्थानमा भने खराब मौसमका कारण उद्धार कार्य अवरुद्ध बनेको अधिकारीहरुले बताएका छन्।