सरकारद्वारा राहत वितरण शुरु

  • 20 जुन 2013
दार्चुलाको बाढी
Image caption सरकारले दार्चुलाको पुनर्निमाणका लागि ५० करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सहितको टोलीले पश्चिम नेपालको बाढी र पहिरो प्रभावित जिल्लाहरुको भ्रमण गरी पीडितहरुलाई राहत वितरण गरेका छन्।

सरकारले बेवास्ता गरेको भन्दै राहत लिन नमानीरहेका त्यस क्षेत्रका पीडितहरुलाई अध्यक्ष रेग्मी आफै पुगेर राहत सामग्री बाँडेका थिए।

लगातारको वर्षाका कारण आएको बाढीबाट सबैभन्दा बढी प्रभावित दार्चुला जिल्लामा भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले ५० करोड रुपियाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ।

बाढी पहिरोका कारण देशभरमा मर्नेहरुको संख्या ३९ पुगेको गृह मन्त्रालयले जनाएको छ।

निरीक्षण

बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणकालागि बिहीबार बिहानै निरीक्षणमा गएका मन्त्रिपरिषदका अध्यक्ष रेग्मी सहितको टोलीले सबैभन्दा बढी प्रभावित दार्चुलाबाट भ्रमण शुरु गरेको थियो।

सरकारले आफुहरुलाई बेवास्ता गरेको भन्दै बुधबार पुगेको केही राहत लिन नमानेका त्यहाँका पीडितहरुले रेग्मी पुग्दा नाराबाजी गरेको त्यहाँका पत्रकार नरेन्द्र कार्कीले बताए।

पीडित मध्ये घरबारविहीन भएका र विस्थापित भएका प्रति परिवारलाई ३५ हजार रुपियाँका दरले रकम दिने घोषणा अध्यक्ष रेग्मीले गरेका छन्।

सरकारले बाढीमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रति परिवार ४० हजार रुपियाँ उपलब्ध गराउने निर्णय यस अघि नै गरी सकेको थियो।

राहत

बाढीका कारण क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण गर्न दार्चुला जिल्लालाई ५० करोड रकम दिने घोषणा पनि अध्यक्ष रेग्मीले गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारीले बताए।

“महाकाली नदीले गरेको कटानहरुको अवस्था के छ भनेर पनि उहाँले हेर्नुभयो। साथै ग्रामीण बाटो निर्माण, विस्थापित बसेका शिविरमा शौचालय निर्माण, खानेपानी, तटबन्ध निर्माणको लागि ५० करोड तत्काल दिने उहाँले प्रतिबद्धता जनाउनुभयो,” उनले भने।

हाल अवरुद्ध रहेको खाद्यान्न आपूर्ति, सडक र तटबन्ध निर्माणका काम तत्काल अगाडि बढाइने आश्वासन पनि रेग्मीले दिएका थिए।

रेग्मी नेतृत्वको सरकारी टोली कञ्चनपुर र कैलालीको स्थलगत अध्ययन गरेर बिहीबार सांझ राजधानी फर्किएको थियो।

बिहानैदेखि रेग्मी नेतृत्वको टोली आउने आशामा बसेका बर्दियाका पीडितहरुले भने टोलीले नभेटी राजधानी फर्किएको भन्दै आक्रोश पोखेका छन्।

सुधार

टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिंचाई मन्त्री उमाकान्त झा तथा मुख्य सचिव लिलामणी पौडेललगायत सहभागी रहेका थिए।

सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लामा बाढीपहिरोले सयभन्दा बढी घर बगाएका छन् भने करीब ३ हजार जना विस्थापित भएको बताइएको छ।

बिह‌ीबार बिहानै देखि अधिकांश भागमा घाम लागे पछि बाढीको थप जोखिममा रहेका मानिसहरुले राहत महसुस गरेका छन्।