बाढीबाट विचल्ली पर्नेहरु अझै छन्: फर्केकाहरु

  • 22 जुन 2013
Image caption भारतको उत्तराखण्डमा आएको बाढीबाट सयौं नेपाली प्रभावित भएको ठानिएको छ

गतसाता भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा ज्यान जोगाउन सफल भएका झन्डै ५ सय नेपालीहरु शनिबार नेपालगंज नाकाबाट नेपाल भित्रिएका छन् ।

भारत सरकारले उद्धार गरि हरिद्वार हुंदै नेपालगन्ज पुर्‍याईएका उनीहरुले त्यहाँको अवस्था भयाबह भएको बताएका छन् ।

भारतमा छँदा सम्म बाँच्ने आसा कमै भएको बताउने उनीहरु मध्ये केहीले आफन्त र केहीले साथीभाई गुमाएको बताएका छन् ।

एकसरो लगाएको लुगा सँगमात्र नेपाल पसेका उनीहरु थकित देखिन्थे ।

सिमाको गेट पार गरेर नेपालपस्दा धेरैले मन भक्कानिएको बताएका छन्।

नयाँ जीवन

त्यस्तै मध्यका एक हुन् रोल्पा ईरीबाङका पहल पुन, "बाँच्छु र बाँचिन्छ भन्ने थिएन, जहान परिवारसँग भेट होला भन्नेपनि थिएन, नयाँ जीवन पाइयो जस्तो लागेको छ।"

यसरी नेपाल भित्रीने मध्यका रुकुम रुघाका बलबहादुर बोहराले आफुसँगै गएको सहोदर भाई गुमाएर फर्किएको बताएका छन् ।

को कता गयो, को कता गयोको स्थितिमा हिँडेका उनीहरु मध्ये ज्यान गुमाउनेमा सल्यानका धेरै हुन सक्ने उनीहरुको भनाई छ ।

सल्यान शिबरथ घर भएका भागीराम बुढाथोकी भन्छन्, "कोही बगे, कोही लेक लागेर मरे, यताबाट पहिरो आउँथ्यो उता दगुर्‍यो, उताबाट पहिरो आउँथ्यो, यता दगुर्‍यो।"

कालको मुखबाट बच्न सफल भएको बताउने रोल्पाका पहलमान घर्तीले पानीको बहावमा कयौं मानिसहरु बगेको आँफैले देखेको बताएका छन्।

मुश्कील

लगातारको बर्षाले आएको बाढी र पहिरोमा ज्यान जोगाउन त्यहाँ रहेका अधिकांश नेपालीहरुलाई मुस्किल परेको बुढाथोकी सुनाउँछन्।

आफ्नो सामान र कमाएको पैसा समेत गुमाएका कतिपय नेपालीहरुले मागेको पैसा पनि त्यहाँका स्थानीयले लुटेको बताएका छन्।

भारतीय सरकार द्वारा उद्धार हुनु अघि सम्म भोक भोकै परेको बताउने उनीहरुले फालेको खाने कुरा समेत खाएर बाँचेको सुनाएका छन्।

बाढी पहिरो आउनु अगाडिसम्म झन्डै २० हजारको हाराहारीमा रहेका नेपालीहरु मध्ये के कति बाँच्न सफल भए भन्ने आफुहरुलाई थाहा नभएको उनीहरु बताउँछन्।

उद्दारको पर्खाइ

केही नेपालीहरु उद्धारको पर्खाईमा रहेका बताउने उनिहरुले आफुहरुको उद्धार हुदा सम्मको दिनमा त्यहाँ पानी खान पाउने अवस्था समेत नरेको उनीहरु बताउँछन्।

बाढीबाट ज्यान जोगाउन सफल भएर नेपाल आइपुग्नेहरुमा अधिकांश रुकुम रोल्पा सल्यान र जाजरकोटका रहेका छन।

उनिहरु मध्यका केहीलाई गृह मन्त्रालयको निर्देशन बमोजीम बाटोखर्चका लागी जिल्ला प्रशासन कार्यालय बाँकेले केही रकम दिएर शनिबारै घर पठाएको छ ।

केही भने आफ्नै तरिकाले घरतिर लागेका छन ।