चिनियाँ उच्चअधिकारीको नेपाल भ्रमण शुरु

  • 24 जुन 2013
चीनियाँ टोली
Image caption याङ हालैको समयमा नेपाल भ्रमणमा आउने सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।

चीनको विदेश नीति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएका एक स्टेट काउन्सिलर याङ जेइची दुई दिने भ्रमणमा सोमबार काठमान्डू आईपुगेका छन्।

नेपालका ठूला दलका शीर्ष नेताहरु एकपछि अर्को गर्दै दक्षिणी छिमेकी भारतको भ्रमण गरेर फर्किएको केही दिनपछि उत्तरी छिमेकी चीनका उच्च अधिकारीले नेपालको भ्रमण गरेका हुन्।

नेपालमा चुनावी सरकार गठन र चीनमा नयाँ राष्ट्रपति चुनिएपछि चीनकातर्फबाट नेपाल भ्रमण गर्ने याङ सबै भन्दा वरिष्ठ अधिकारी हुन्।

मंसीर ४ गतेका लागि तय गरिएको संविधानसभाको चुनावमा सहयोग उपलब्ध गराउने र नेपालमा पूर्वाधार निर्माण लगायतका विषयमा मंगलबार नेपाली र चिनियाँ पक्षले हस्ताक्षर गर्ने कार्यक्रम छ।

चुनावमा चासो

नेपाल आईपुगे लगत्तै याङले गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग चुनावको तयारी लगायतका विषयमा छलफल गरेका थिए।

याङको आगमनको उद्देश्य नेपालमा चीनको प्रभाव घटन नदिनु र संविधानसभा चुनावका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले बताए।

“चिनियाँहरु नेपालमा आफ्नो प्रभाव कायम राखिराख्ने जसले गर्दा क्षेत्रीय स्तरमा आफ्नो भूमिका न्यूनिकरण नहोस् भन्ने चाहन्छन्,” उनले भने।

"नेपालमा थप अस्थिरता नहोस् र चुनाव होस्, त्यसका लागि के कस्तो मद्दत गर्न सकिन्छ त्यो बुझ्न चाहन्छन् जस्तो मलाई लाग्छ," आचार्यले भने।

बर्माबाट विशेष विमानमा झन्डै दुई दर्जन अधिकारीहरुसहित नेपाल आईपुगेका याङले आफ्नो भ्रमणका बारे संचारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन्।

आफू बसेकै राजधानीको एक होटलमा उनले चुनावी तयारी लगायतका बिषयमा गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग छलफल गरेका थिए।

याङले मंगलबार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, कार्यवाहक राष्ट्रपति परमानन्द झा लगायतका वरिष्ठ अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ।

उनको भ्रमण दलले निर्वाचन आयोगलाई करीब १४ करोड रुपैंयाँ बराबरको मतदान केन्द्रमा प्रयोग गरिने सामग्री उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

सम्झौता

याङको भ्रमणका बेला चिनियां र नेपाली पक्षबीच सशस्त्र प्रहरी तालिम एकेडेमीको निर्माणसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने बताइएको छ।

याङले चिनियाँ सहायतामै निर्मित काठमा‍ण्डूको चक्रपथ सडक विस्तार सम्बन्धी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाल प्रवेश गरेर तेश्रो मुलुक छिर्ने तिब्बती शरणार्थीको आवतजावत नियन्त्रण गर्न दबाब दिदै आएको चीनले सीमा क्षेत्रमा तैनाथ नेपालको सशस्त्र प्रहरीलाई तालिम केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता अघिल्लो वर्ष तत्कालीन चीनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका बेला जनाएको थियो।

याङको भ्रमणलाई कतिपयले दक्षिण एसियालाई प्राथमिकता दिने चीनको नीतिको निरन्तरताका मानेका छन्।

चिन्ता

संघीयताबारे नेपालमा व्याप्त अन्यौलका माझ चिनीयाँ अधिकारीहरुले आफ्नो संवेदनशील उत्तरी सीमामा नेपालमा धेरै प्रदेशहरु निर्माण गर्दा बढ्न सक्ने सुरक्षा चिन्ताबारे नेपाली अधिकारीहरुको ध्यानाकर्षण गराउन सक्ने पूर्व राजदुत आचार्यले बताए।

मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा तल र मन्त्री भन्दा माथि रहेका चीनका पाँच जना स्टेट काउन्सिलर मध्येका याङ एक हुन्।

उनले परराष्ट्रमन्त्रीको हैसियतमा सन् २००८ मा नेपाल भ्रमण गर्दा नेपाल र चीनबीच नयाँ शान्ति तथा मैत्रि सन्धि गर्न प्रस्ताव गरेका थिए।