डलरका कारण महंगी बढ्ने: अधिकारीहरु

  • 27 जुन 2013
अमेरिकि डलर
Image caption अमेरिकी डलरको भाउ बढेपछि आयातमा नेपालको खर्च आकासिने बताइएको छ

बितेका केही हप्ताहरुमा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि त्यसका कारण यसपालि बजार भाउ अर्थात मुद्रास्फिति साढे सात प्रतिशतको हाराहारीमा कायम राख्ने मौद्रिक नीतिको लक्ष्य अब भेट्टाउन नसकिने अधिकारी तथा अर्थविदहरुले जनाएका छन्।

डलरको भाउ बढ्ने क्रमसंगै नेपाल आयल निगमले आफ्नो मासिक घाटा २५ करोड रुपियाँ नाघ्ने बताईसकेको छ। केही परियोजनाको बिजुली डलरमा समेत किन्ने नेपाल विद्युत प्राधिकरणलाईपनि यसले चाप परेको छ।

इन्धन र उर्जाको भाउ बढ्ने वित्तिकै त्यसले अरु सबै सामाग्रीमा प्रभाव पार्ने प्रष्टै छ।

चेतावनी

केही महिना अघि एक डलर बराबर असीको हाराहारीमा रहेको नेपाली रुपियाँ हिजोआज सय नजिक पुगिसकेको छ।

यसले मूलत: विदेशबाट आयात गरेर ल्याइएका सामानमा आश्रित नेपाललाई चौतर्फी प्रभाव पार्ने चेतावनी अर्थविद्हरुले दिएका छन्।

“मान्छेको क्रयशक्ति एकदम कम भइरहेको छ। विदेशमा जाने र यहाँभित्र सेना, प्रहरीमा जानेबाहेक रोजगारीको अवसर छैन। त्यसैले आउँदा दिन नेपालीका लागि निकै कष्टकर हुने देख्छु,” एकजना अर्थविद् केशव आचार्यले बताए।

त्यो कष्टको शुरुवात आउँदो केही सातामै हुन सक्ने अर्थविद्हरु ठान्छन् जब इन्धन लगायतमा भइरहेको घाटा थेग्न सामर्थ्य घट्दै जान्छ र त्यसको प्रहार उपभोक्तामा सारिन्छ।

यसपालीको महंगीको प्रहार सरकारी निकायहरुको नियन्त्रणभन्दा बाहिर जाने सम्भावना पनि टड्कारो रहेको अर्थविदहरुको भनाइ छ।

सात प्रतिशतमा महंगी दरलाई कायम राख्ने सरकारी योजनाको विपरित दोहोरो अंक अर्थात १० प्रतिशत भन्दा बढी महंगी हुने अनुमान कतिपयको छ।

त्यसलाई सरकारी अधिकारीहरुलेपनि सीधै नकार्न सकेका छैनन्।

अर्थ मन्त्रालयका सल्लाहकार डा चिरञ्जीवी नेपालले भने, “हामीलाईपनि त्यही डर लाग्या छ। सरकार यसबारे एकदमै चिन्तित छ। अझ भनौं यसबारे संसारभरनै चिन्ता छ।”

उपचार

केही सातायता डलरको तुलनामा लगातार भारतीय रुपियाँ अवमूल्यन भएपछि त्यसैको असर स्वरुप भारुसंग स्थीर विनिमय सम्बन्ध भएको नेपाली रुपियाँको मूल्यपनि गिर्‍यो।

गत साता अमेरिकी अधिकारीहरुले त्यहाँको आर्थिक संकट हट्दै गएको भन्दै देशभित्र गर्दै आएको आर्थिक सहायताको लगानी कम गर्दै लग्ने घोषणापछि डलरको भाउ झन आकाशियो।

अब अन्तर्राष्ट्रिय रोगको रुपमा देखिएको यस समस्याको उपचार नेपालभित्र सम्भव छ त?

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद डा दिपेन्द्रबहादुर क्षेत्री त्यति साह्रो आशावादी छैनन्।

“राष्ट्र बैंकले मुद्राको आपूर्ति केही नियन्त्रण गर्न सक्छ। तर त्यसो भयो भने फेरि निजीक्षेत्रले माग गरे जति पैसा बजारमा नगए तरलताको समस्या आउन सक्छ,” क्षेत्रीले भने।

त्यसका अतिरिक्त सरकारले आपूर्ति व्यवस्था तथा बजार अनुगमन चुस्त बनायो भने महंगीको प्रहारबाट जनतालाई केही हदसम्म जोगाउन सक्ने अर्थविदहरु ठान्छन्।