बाबुराम भट्टराईद्वारा पार्टी पद त्यागेको घोषणा

  • 29 जुन 2013
बाबुराम भट्टराई
Image caption भट्टराईको पदत्यागबारे पार्टीको विशेष बैठकमा छलफल शुरू भएको छ

एकिकृत माओवादीभित्र पद विभाजनको आन्तरिक झगडा चर्केका बेला शनिबार एकजना उपाध्यक्ष बाबुराम भट‍टराईले पद त्यागको घोषणा गरेका छन्।

भट्टराईको पदत्यागपछि माओवादीको जारी केन्द्रिय समिति बैठक स्थगित गरिएको छ।

भट्टराईको पदत्यागमाथि पार्टीका पदाधिकारी लगायतका नेता सहभागी विशेष बैठकमा छलफल शुरु गरिएको छ।

छलफल आइतबार पनि जारी रहने र सहभागी सबैको धारणा सुनेपछि आइतबारै माओवादी अध्यक्ष प्रचण्डले भटटराईको त्यागपत्र प्रकरणलाई किनारा लगाउने माओवादी नेताहरुले बताएका छन्।

निर्णय 'भोलि'

विशेष छलफलबारे माओवादी प्रवक्ता अग्नी सापकोटाले भने, "अहिलेको स्थितिमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको टिम एक अर्काको परिपुरक छ, पद छोड्ने बेला आइसकेको छैन भन्ने नै अधिकांशको धारणा आएको छ।"

सापकोटाले बैठक आइतबार पनि जारी रहने र सबै सहभागीले बोलिसकेपछि अध्यक्ष प्रचण्डले अन्तिम निर्णय गर्ने बताएका छन्।

पार्टीका पूर्व लडाकू, मधेशी, लगायत नव प्रवेशीहरुले समेत पदको बाँडफाँटप्रति चर्को असन्तुष्टी व्यक्त गरेका छन्।

त्यसैक्रममा शनिबार भट्टराईले पार्टी उत्तराधिकारी निर्माणको बेला आइसकेको भन्दै पदत्याग गरेको प्रवक्ता सापकोटाले बताएका छन्।

भटटराई नेतृत्वको सरकार बनेदेखि पार्टीको साख ओरालो लाग्दै गएको भनी गरिएका आलोचनाको प्रतिक्रिया स्वरुप उनको त्यागपत्र आएको पार्टीभित्रकै कतिपय नेताको बुझाइ पाइन्छ।

त्यसैगरी एकीकृत माओवादीबाट करिब एक वर्षअघि फुटेर बनेको नेकपा माओवादीको पनि शनिबारदेखि केन्द्रीय समिति बैठक पोखरामा शुरु भएको छ।

चुनाव 'बहिष्कार'

बैठकमा अध्यक्ष किरण बैद्यले राजनीतिक र महासचिव रामबहादुर थापाले सांगठनिक प‌्रतिवेदन पेश गरेका छन्।

बैद्यले मंसिरमा हुने भनिएको निर्वाचनको सक्रिय बहिष्कार गर्ने प्रतिवेदन पेश गरेको प्रवक्ता पम्फा भुषालले बताइन्।