सर्वपक्षीय गोलमेच गर्न तयार: शीर्ष समिति

  • 6 जुलाई 2013
Image caption उच्च स्तरीय राजनीतिक समितिले विपक्षीहरुको गोलमेच सम्मेलन लगायतका मागमा लचक हुने निर्णय गरेको छ

उच्चस्तरीय राजनीतिक समितिको शनिबारको बैठकले सर्वपक्षीय गोलमेच सम्मेलन गर्न तयार रहेको निर्णय गरेको छ।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले जारी राजनीतिक संकट समाधानका लागि गोलमेच सम्मेलन, जारी चुनावी प्रक्रिया रोक्नुपर्ने लगायतका माग गर्दै आएको छ।

समितिको शनिबारको निर्णय सकारात्मक भएपनि अपुग रहेको नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले बताए।

उनले भने, "समितिले जे निर्णय गरेको छ, त्यसबारे भोलिको हाम्रो पोलीटब्यूरो बैठकले औपचारिक प्रतिक्रिया जनाउनेछ।"

माग

बैद्य नेतृत्वको विपक्षी मोर्चाले चार राजनीतिक समुहले गरेको ११ बुँदे सहमति र त्यसैको आधारमा राष्ट्रपतिले गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ खारेज हुनुपर्ने माग पनि राख्दै आएको छ।

बैद्यले भनेको जस्तो सरकारको स्वरुप परिवर्तन र यसअघिका सहमति खारेजी संभव नरहेको उच्चस्तरीय समितिका सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले बताए।

खनालले संविधानको बाधा अडकाउ फुकाउ पनि पटक पटक गर्न नहुने धारणा राखेका छन्।

लचक

बैद्य नेतृत्वको माओवादीलाई लक्षित गरेर कैयौं बुँदामा आफूहरु लचक बनेको खनाल बताउए।

उनले भने, "गोलमेच सम्मेलन दर्जनौंपटक गर्न सकिन्छ, उच्च स्तरीय राजनीतिक समिति पुनर्गठन गर्न सकिन्छ, सरकार विस्तार गर्न सकिन्छ तर चुनाव निर्धारित मितिमा हुने कुरा र सरकारको स्वरुपमा परिवर्तन संभव छैन।"

बीबीसीकी काठमाण्डूस्थित एक संवाददाता भन्छिन्, अहिले जारी प्रक्रियाका पक्षधर र विपक्षी दुवै वार्तामा बस्नेमा सकारात्मक देखिएपनि समस्याको निदान तिनको इच्छाशक्तिमा निर्भर रहने देखिन्छ।