चुनावमात्रै विकल्प: भारतीय विदेशमन्त्री खुर्शिद

  • 9 जुलाई 2013
निर्वाचन आयोग
Image caption भारतले निर्वाचन आयोग र सुरक्षा निकायका लागि ७६४ वटा सवारी साधन दिने भएको छ

संविधानसभाको निर्वाचन तोकिएकै अवधिमा सम्पन्न गर्नु नेपालको राजनीतिक अन्योललाई अन्त्य गर्ने एकमात्र उपाय भएको धारणा भारतीय विदेशमन्त्री सलमान खुर्शिदले राखेका छन्।

उत्तरी छिमेकी चीनका एक जना उच्च अधिकारी काठमाण्डू आएको दुई साता नबित्दै अर्को छिमेकी मुलुक भारतका विदेशमन्त्री खुर्शिद केही घण्टाको आफ्नो नेपाल भ्रमण सकी मंगलवार स्वदेश फर्किएका हुन्।

नेपालमा दोस्रो संविधानसभा निर्वाचनको मिति घोषणापछि दुवै प्रभावशाली छिमेकीबाट बाक्लिएका यस्ता उच्चस्तरीय दौडाहाहरुलाई अन्योलग्रस्त नेपाली राजनीतिको परिप्रेक्ष्यमा महत्वका साथ हेरिएको छ।

विदेशमन्त्रीको पद सम्हालेपछि पहिलोपटक काठमाण्डू आएका खुर्शिदले आफ्नो छोटो बसाइमा त्यस्तै खाले भारतीय चासोको जनाऊ दिएका थिए।

भेटवार्ता

शुरुमा एक रात बस्ने भनेर काठमाण्डूस्थित भारतीय दूतावासले सार्वजनिक वक्तव्य निकालेपनि कार्यव्यस्तता देखाउंदै खुर्शिद आफ्नो भ्रमण छोट्याएर मंगलवार नै स्वदेश फर्किए।

तर छोटै भएपनि करिब नौ घण्टे काठमाण्डू बसाइमा उनले राष्ट्रपति रामवरण यादव, अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेदेखि लिएर प्रमुख शक्तिका शीर्ष नेताहरुसम्म, नेपाली राजनीतिका प्राय सबै मुख्य पात्रहरुलाई भेट्न भ्याएका थिए।

आफ्ना पूर्ववर्ती एसएम कृष्णाको तुलानामा नेपालसहितका छिमेकी मुलुकहरुसंग सम्बन्धित मामिलामा निकै चासो राख्ने बताइएका खुर्शिदले ती भेटमा अहिलेको राजनीतिक अन्योलको निकासका लागि चुनावमात्रै विकल्प भएको भारतीय धारणा राखेका थिए।

ती भेटपछि आयोजित पत्रकार सम्मेलनमा खुर्शिदले भने, “चुनाव सम्पन्न गर्ने दृढतालाई हामीले समर्थन गर्नुपर्छ र गर्छौ पनि। अरु विकल्पहरु हेरिनु हुंदैन किनकी सम्पन्न गर्न बांकी रहेको चुनावको विकल्प प्रजातन्त्रमा हुंदैन। त्यसमाथि यो आवधिक चुनाव जस्तो होइन यो त संविधानसभाको चुनाव हो।”

भारतकै सहजीकरणमा नयाँ दिल्लीमा करिब आठ वर्षअघि भएको १२ बुंदे समझदारीले कोरेको नेपाली राजनीतिक मार्गचित्र अझै अन्योलग्रस्त रहेकै अवस्थामा भएको खुर्शिदको यो भ्रमणलाई उक्त मार्गचित्रलाई निष्कर्षमा पुर्याउन जरुरी रहेको भारतीय सन्देशका रुपमा विश्लेषकहरुले अर्थाएका छन्।

सहयोग

प्रस्तावित दोस्रो संविधानसभा चुनाव र सुरक्षा प्रयोजनका लागि ८० करोड रुपैयाँ बराबरका साढे ७ सयभन्दा बढी सवारी साधन भारतले उपलब्ध गराउनेसम्बन्धी दुई सम्झौतामा पनि मंगलवारनै हस्ताक्षर भएको थियो।

करिब दुई साताअघि एक जना वरिष्ठ चिनियाँ अधिकारी यांग जेइचीले नेपाल भ्रमण गर्दा पनि निर्वाचन आयोगलाई प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

शिष्टाचार

नेपालसंग सिमाना जोडिएको उत्तर प्रदेशका यी भारतीय मन्त्रीले स्वदेश फर्कनुअघि आजै राजनीतिक दलका नेताहरुसंग एक स्थानीय होटलमा करिब तीन घण्टाजति भेटघाट गरेका थिए।

शिष्टाचारका दृष्टिले उपल्लो क्रमका मानिने पूर्व प्रधानमन्त्रीहरु समेत खुर्शिदलाई भेट्न होटलमा पुग्दा धेरैले त्यसलाई अनौठो मानेका थिए।

पत्नी सीताको उपचारका लागि भन्दै दुई दिनअघि सिंगापुर पुगेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मंगलवारनै काठमाण्डू फर्किएर करिब एक दर्जन नेताको टोलीसहित खुर्शिदलाई भेट्न गएका थिए।