तराई राजनीतिमा भारतीय प्रभाव

  • 11 जुलाई 2013
भारतीय विदेशमन्त्री मधेशी नेताहरुसंग
Image caption भारतीय विदेशमन्त्री सलमान खुर्शिद तराई केन्द्रित नेताहरुसंग काठमाडौंमा भेट्दै

केही घण्टाको भ्रमणमा मंगलवार काठमाडौं आएका भारतीय विदेशमन्त्री सलमान खुर्शिदसंग तराई केन्द्रित दलहरुले सामूहिक भेटवार्ता गरे।

यसअघि पटकपटकका प्रयासका बाबजुद पनि एकै थलोमा बस्न नसकेका उनीहरुलाई संगै बस्ने अवसर यो भेटले जुराइदिएको थियो।

तराईको राजनीतिमा भारतको प्रभाव बेलाबखत उठिरहने सन्दर्भमा यो सामूहिक भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

महत्व

उक्त औपचारिक भेटमा तराईका ९ दल सँगै उपस्थित थिए। अन्य राजनीतिक दलका नेताहरुसंगको भेटमा जस्तै उनीहरुसंगको सामूहिक भेटमा खुर्शिदले तोकिएकै समयमा संविधानसभाको निर्वाचन गर्न आग्रह गरेका थिए।

उनले संविधानसभाका लागि दोस्रो पटक चुनाव हुन लाग्नुलाई विशिष्ट परीक्षण भन्दै यसबाट संविधान लेखन, शान्ति र विकासका लागि बाटो खोल्नुपर्ने बताएका थिए।

खुर्शिदसंगको भेटमा अहिले उच्चस्तरीय संयन्त्रमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पाँच घटकका शीर्ष नेताहरु-विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र राजकिशोर यादवको उपस्थिति छंदै थियो। त्यसमाथि अलग धारका भनिने उपेन्द्र यादव,शरतसिंह भण्डारी,जयप्रकाशप्रसाद गुप्ता र अनिलकुमार झा समेत संगै सहभागी थिए।

लामो समयदेखि एकैथलोमा बस्न नसकेका यी मधेशी नेताहरुलाई संगै बस्ने अवसर यो भेटले जुराइदिएको थियो। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले करीब एक महिना अगाडि चियापान आयोजना गरेर सबैलाई एकै थलोमा भेट्न गरेको प्रयास पनि सम्भव हुन सकेको थिएन।

आपसमा विभाजित भएपनि अन्तराष्ट्रिय रुपमा तराई केन्द्रित दलहरुलाई एउटा शक्तिका रुपमा स्वीकार गर्न थालिएको रुपमा कतिपय नेताहरुले यसलाई अर्थ्याएका छन्।

चुनाव

पछिल्लो संविधानसभाको निर्वाचनको बखत पनि काठमाडौंस्थित भारतीय दूतावासको सहजीकरणमा त्यतिखेर आन्दोलनरत तराई केन्द्रित दलहरुको चुनावमा सहभागिता सम्भव भएको भनिएको थियो।

अहिले खासगरी उपेन्द्र यादव नेत्तृत्वको मोर्चाले चुनावी प्रक्रियाका केही पक्षको विरोध गर्दै आएको छ। भेटपछि उनी नरम हुनसक्ने अनुमान गरिदैंछ।

कतिपय तराई केन्द्रित दलहरुबीच एकीकरण र मोर्चाबन्दीको बहस भइरहेको पृष्ठभूमिमा भारतीय विदेशमन्त्रीसंगको भेटले त्यस दिशामा प्रेरणा मिल्न सक्ने बताउंछन्।

तर अर्काथरी मत राख्नेहरु संविधानसभा चुनाव हुनुपर्ने भारतीय सन्देशलाई खुर्शीदले मधेशी दलहरुलाई पनि प्रष्ट मात्रै पारेकाले चुनावी मोर्चाबन्दीका व्यवहारिक चुनौतीलाई भने न्यून गर्न नसक्ने तर्क गर्छन्।