पत्रको जवाफ सामूहिक अध्ययनपछि: बैद्य

  • 17 जुलाई 2013
Image caption वार्ताको औपचारिक आह्वान भएको पत्रमाथि सामूहिक छलफल गरेर मात्र जवाफ दिने बताइएको छ

उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट समूहलाई वार्तामा आउन बुधबार औपचारिक पत्र पठाएका छन्।

असन्तुष्ट समूहको नेतृत्व गरेका नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले पत्रको सामूहिक विश्लेषण पछि ठोस जवाफ दिने बताएका छन्।

उच्चस्तरीय राजनीतिक समितिको बुधबार बिहान बसेको बैठकले असन्तुष्ट समूहको माग बमोजिम वार्ताका लागि औपचारिक पत्र तत्काल पठाउने निर्णय गरेको थियो।

निशर्त

प्रचण्डले पठाएको पत्रमा चुनावको उल्लेख गर्नुलाई उनीहरुले शर्तका रुपमा अर्थ्याए भने त्यस्तो शर्त सहितको वार्तामा नबस्ने अडान अध्यक्ष बैद्यले दोहोर्‍याएका छन्।

बैद्यले भने, "पत्रमाथि हामी आफुबीच र ३३ दलीय मोर्चाका साथीहरुबीच छलफल गर्छौं र मात्रै जवाफ दिनेछौं।"

संयोग यस्तो परेको छ, आफ्नै पार्टीमा उपाध्यक्ष रहेका बखत बैद्यका नीतिगत अडानहरु संबोधन गर्न नसकेर पार्टीको फुट बेहोरिरहेका प्रचण्डले अर्को पार्टीका शीर्ष नेता बनिसकेका बैद्यलाई मनाउनु पर्ने भएको छ।

धारणा

बुधबार नै एउटा छुट्टै कार्यक्रममा माओवादी मुख्यालय पेरिसडाँडामा प्रचण्डले दिएको एउटा भाषणले बैद्य माओवादीप्रतिको उनको धारणा प्रष्ट हुन्छ।

उनले भने, "तेह्र हजार भन्दा बढी संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने नीति अन्तर्गत शहीद भएका छन्। आफुलाई जनयुद्धको हिमायती पक्षपाती माओवादी भन्ने कसैले पनि कुनै पनि बहानामा संविधानसभाको निर्वाचनको विरोध गर्नु राजनीतिक र नैतिक दृष्टिकोणले ठिक छैन।"

उच्चस्तरीय समिति सँगसँगै सरकारले पनि असन्तुष्ट समूह खासगरी नेकपा माओवादीलाई चिठी पठाउने तयारी गरिरहेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री माधव पौडेलले बताएका छन्।