वरिष्ठ नेताको प्रस्ताव स्वीकारेको छैन : भट्टराई

  • 18 जुलाई 2013
बाबुराम भट्टराई
Image caption भट्टराई चुनावसम्मका लागि शक्तिशाली अध्यक्षको पक्षमा रहेको बताइएको छ।

शुक्रबार देखि शुरु हुने एकीकृत माओवादीको विस्तारित बैठकको पूर्व सन्ध्यामा हालै उपाध्यक्ष पद त्यागेका बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डले राखेको वरिष्ठ नेताको पदको प्रस्ताव स्वीकार नगरेको बताएका छन्।

विस्तारित बैठकमा लैजाने प्रस्तावलाई अन्तिम रुप दिन प्रचण्डले नेताहरुसँग छलफल जारी राखिरहदा भट्टराईको यस्तो भनाइ आएको हो।

संविधानसभाको चुनावसम्म सबै अधिकार अध्यक्षमा नै केन्द्रित गरेर त्यसपछि सांगठनिक राष्ट्रिय सम्मेलनमा जानु पर्ने धारणा भट्टराईले राखिरहेको उनी निकट नेताहरुले बताएका छन्।

झण्डै ५०० माओवादी नेता कार्यकर्ता सहभागी हुने विस्तारित बैठकअघि भट्टराईको पद त्यागबारे पार्टीको शीर्ष तहमा सहमति जुटाउने प्रयास प्रचण्डले गरिरहेका छन्।

खण्डन

हालै उपाध्यक्ष पद त्याग गरेको घोषणा गरेका एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई पार्टीको वरिष्ठ नेता बन्न सहमत भएको खबरहरु आइरहँदा समाजिक संन्जाल ट्वीटर मार्फत उनले त्यसको खण्डन गरेका छन्।

उनले 'वरिष्ठ नेता' को पद आफुले स्वीकार्ने अनुमान सही नभएको भन्दै एकीकृत माओवादीमा जारी बहस पार्टीको रुपान्तरण र शुद्धीकरणमा केन्द्रित रहेको बताएका छन्।

अध्यक्ष प्रचण्ड लगायत पदाधिकारीहरुले पद त्याग लगायत विषयमा बिहिवार पनि जारी राखेको सुझाव संकलनमा सहभागी एकजना माओवादी नेता हेमराज भण्डारी आफूले उठाएको संगठनात्मक सुधारको प्रस्ताव ओझेलमा पर्न सक्ने भएकाले भट्टराईले अहिलेसम्म वरिष्ठ नेताको पद नस्विकारेको बताए।

“अहिलेसम्मको छलफल अनुसार उहाँले वरिष्ठ नेता स्वीकार्नु हुन्न। उपाध्यक्षमा फिर्ता हुने सम्भावना पनि अहिलेकै अवस्थामा छैन। पद त्याग गरे पनि विगतकै जस्तो सक्रिय भएर काम गर्न सकिन्छ भन्ने सोचाइ उहाँमा छ,” भट्टराईले भने।

ललितपुरको खन्ना गार्मेन्टमा शुक्रबार बिहान ११ बजेको लागि तय गरिएको विस्तारित बैठकको उदघाटन समारोह अघि सहमति जुटाउने प्रयासमा अध्यक्ष प्रचण्डले माओवादी पदाधिकारीहरु, पूर्व स्थायी समिति तथा केन्द्रिय सदस्यहरु लगायतको बैठक बोलाएका छन्।

प्रस्ताव

प्रचण्ड निकट नेता हरिबोल गजुरेलले संविधानसभाको चुनाव पछि आयोजना गरिने सांगठनिक राष्ट्रिय सम्मेलनसम्म वरिष्ठ नेता बनेर आफूलाई सहयोग गर्न प्रचण्डले भट्टराईलाई आग्रह गरेको बताए।

प्रचण्डले प्रस्तुत गरेको विकल्प उल्लेख गर्दै गजुरेलले भने “अहिले पुरानै पदमा बसेर फाल्गुन चैत सम्म भूमिका निर्वाह गर्ने र त्यसपछि संगठनात्मक सम्मेलनमा गएर छलफल गर्नेमा पनि उहाँ सहमत हुनसक्नु हुन्छ वा वरिष्ठ नेता बनेर अध्यक्ष र पदाधिकारीको नजिक रहेर आफ्नो भूमिका पुरा गर्ने पनि हुनसक्छ।”

तर भट्टराई भने चुनावसम्मका लागि शक्तिशाली अध्यक्ष र अरु सबै पदाधिकारीलाई केन्द्रिय सदस्यमा सीमित राख्ने वैकल्पिक प्रस्तावको पक्षमा उभिएका छन्।

त्यस्तो प्रस्तावले आफूहरुलाई पार्टी भित्र कमजोर बनाउने ठानेर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले चर्को विरोध गरेका छन्।

माओवादी नेताहरुका अनुसार वरिष्ठ नेताको पद लिन सकारात्मक भएपनि तुरुन्तै सहमति जनाउँदा आफ्नो पद त्यागको गलत व्याख्या हुने र विस्तारित बैठकमा कार्यकर्ताहरुबाट चर्को आलोचना हुन सक्ने भट्टराईले बुझेका छन्।

त्यही भएर विस्तारित बैठकमा आफ्नो मत दर्ज गराएपछि परिस्थिति हेरेर भट्टराईले वरिष्ठ नेताको पद स्वीकार्ने सम्भावनालाई नकार्न नसकिने उनी निकट कतिपय नेताहरुले बताएका छन्।