विलियम र केटलाई पुत्रलाभ, लण्डनमा खुसीयाली

  • 23 जुलाई 2013
विशेष सुचना
Image caption विलियम र केटको छोरा जन्मिएपछि लण्डनमा खुसीयाली झल्काउन विभिन्न कार्यक्रमहरु आयोजना गरियो

ब्रिटिश राजकुमार विलियमले आफू र आफ्नी श्रीमती डचेस अफ क्याम्ब्रिजले पहिलो सन्तानको रुपमा छोरा पाएकोमा अत्यन्त खुसी भएको बताएका छन्।

बकिङ्घम दरबारका अनुसार बालकको जन्म ब्रिटिश समय अनुसार सोमबार दिउँसो ४ बजेर २४ मिनेटमा भएको हो र उनको साढे तीन किलो भन्दा थोरै बढी छ।

नयाँ बालकलाई प्रिन्स अफ क्याम्ब्रिज अर्थात् क्याम्ब्रिजका राजकुमार भनिने छ।

ब्रिटिश राजगद्दीमा उत्तराधिकारी बन्ने लाइनमा उनी तेस्रो हुनेछन्।

उनी राष्ट्रमण्डलमा रहेका १५ वटा अरु राष्ट्रहरुका राष्ट्रप्रमुख पनि हुनेछन्।

प्राथमिकता

लण्डनमा खुसीयाली छाइरहँदा राजकुमार विलियम र डचेस अफ क्याम्ब्रिजलाई पुत्र लाभ भएको खबरले ब्रिटेन बाहिर विश्वका थुप्रै संचारमाध्यमहरुमा प्राथमिकता पायो।

पश्चिम लण्डनको एक अस्पतालमा बालक जन्मिएको खबर पाउन थुप्रै आगन्तुकहरुको भीड लागेको थिए।

एक महिलाले भनिन्, “हामीलाई लाग्दैछ यहाँ कुनै उत्सव भइरहेको छ, यहाँ एकदमै रमाइलो भइरहेको छ।”

अर्की महिलाले भनिन्, “उनीहरु प्रेममा डुबेका दुई जना जस्तो देखिन्छन्, अहिले एउटा बच्चा भयो - कति राम्रो!”

राजपरिवारमा नयाँ सदस्यको जन्म भएपछि महारानी र उनका श्रीमान् ड्युक अफ एडिनबरा पनि खुसी भएको बताइएको छ।

राजकुमार विलियम चांहि राति अस्पतालमा थिए।

विलियमका पिता राजकुमार चार्ल्सले आफू हजुरबुबा बन्न पाउँदा एकदमै गौरवान्वित भएको बताए।

‘बधाई’

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले देशको जीवनको यो एउटा महत्वपूर्ण क्षण भएको बताए।

उनले शाही दम्पत्तिका लागि यो महत्वपूर्ण क्षण भएको बताए।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेलले पनि राजकुमार र राजकुमारीलाई बधाई दिएका थिए।

ब्रिटेनको राजपरिवारमा नयाँ सदस्य जन्मिएको खबर न्यूयोर्कको टाइम्स स्क्वायरमा एउटा विशेष स्क्रिन मार्फत दिइएको थियो।

सम्बन्धित लिंक

बाहिरी वेबसाइटहरुको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।