चीनमा बो सिलाई विरुद्ध अभियोगपत्र दायर

  • 26 जुलाई 2013
बो सिलाई
Image caption बो सिलाई कुनै समय चिनियां कम्युनिष्ट पार्टीका एक उदाउंदो तारा थिए।

चीनको चोङचिङ प्रान्तका भूतपूर्व प्रमुख बो सिलाई विरुद्ध भ्रष्टाचार, घूस दिएको तथा शक्तिको दुरुपयोग गरेको अभियोगहरु दायर गरिएको छ।

सरकारी सन्चारमाध्यमहरुका अनुसार बिहीबार सान्डोङ प्रान्तको जिनानमा सरकारी अभियोक्ताहरुले उनी विरुद्ध मुद्दा दायर गरेका थिए।

एकजना बृटिश व्यापारी, निल हेउड, को हत्यामा उनको नाम मुछिए पछि उनलाई चिनियां कम्युनिष्ट पार्टीबाट निष्काशन गरिएको थियो।

नीलको हत्यामा संलग्न भएको आरोप लागेकी उनकी श्रीमती गु काइलाई सोही अभियोगमा गत बर्षदेखि जेलमा छिन्।

आरोपपत्र

अदालती सुनुवाइको मिति अझै तोकिएको छैन।

तर अदालतमा औपचारिकरुपमा आरोपपत्र पठाइएपछि उनी विरुद्ध मुद्दा चल्ने देखिन्छ।

सरकारी संचार संस्था, सिन्ह्वाले आरोपपत्रमा बो ले अख्तियार दुरुपयोग गरी निकै ठूलो रकम र सम्पत्ती जोडेकेा उल्लेख गरिएको जनाएको छ।

उनले सार्वजनिक कोष दुरुपयोग गरेको आरोप पनि लगाइएको छ।

उदाउंदो तारा

कुनै समय बो चिनियां कम्युनिष्ट पार्टीका एक उदाउंदो तारा थिए।

तर उनका पूर्व प्रहरी प्रमुख वाङ लिजुनले गत बर्ष फेब्रुअरी महिनामा चेङदुस्थित अमेरिकी नियोगमा प्रवेश गरी त्यहां केही दिन बिताएपछि बो को तीव्र आलोचना भएको थियो।

समाचारहरुमा जनाइए अनुसार वाङले अमेरिकी नियोगमा रहंदा नील हेउडको हत्यामा बो की श्रीमती संलग्न रहेको आरोप लगाएका थिए।

त्यसपछि सो हत्याबारे अनुसन्धान थालिएको थियो।

विश्लेषकहरु भन्छन्, बोमाथि लगाइएका आरोपहरु सार्वजनिक गरिएबाट चीनको नयां नेतृत्व यो प्रकरणप्रति गम्भीर रहेको देखाउंछ।