चुनाव बिथोल्न आन्दोलन शुरु

  • 25 जुलाई 2013
नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य
Image caption नेकपा माओवादी सहितका ३३ दललाई उच्चस्तरीय राजनीतिक समितिले नयाँ पत्र पठाएको छ

नेकपा माओवादीले आफ्नो माग पुरा नभए मंसिर ४ गतेको चुनाव बिथोल्ने बताएको छ।

सरकार र सत्तारुढ दलहरुले वार्तामा ल्याउने कोसिस गरिरहँदा नेकपा माओवादीले बिहीबार संविधानसभा चुनाव मंसिरमा हुन नदिने घोषणा सहित बहिष्कार आन्दोलन शुरु गरेको हो।

चुनाव विरुद्धको आन्दोलन भन्दै बिहीबार सडकमा ओर्लिएको माओवादीले आफ्ना मागहरु पुरा नभए देशभर निर्वाचन प्रचारमा निषेध लगाउने चेतावनी दिएको छ।

राजधानीको रत्नपार्कमा भएको सभामा माओवादीका महासचिव रामबहादुर थापाले प्रतिकात्मक रुपमा बनाइएको मतपेटिका हथौडाले फोडेका थिए।

बिथोल्ने

“अहिले प्रतिगामी शक्तिहरु र उनीहरुका दलालहरुले संविधानसभा चुनावको नाममा जुन नौटंकी गर्दैछन् यो भनेको नेपाललाई नयाँ सिक्किम बनाउने प्रक्रिया हो,” सभालाई सम्बोधन गर्दै थापाले भने।

दुई हप्ता अघि सतारुढ दलहरुले गोलमेच सम्मेलनको माग पुरा गर्न सकारात्मक भएको प्रतिक्रिया दिएपछि माओवादीले अध्यक्ष मोहन बैद्यको नेतृत्वमा वार्ता टोली बनाएको थियो।

तर उच्चस्तरीय राजनीतिक समितिले पठाएको पत्रमा चुनावको मिति पुनर्विचार गर्न नसकिने भाषा उल्लेख गरिएको भन्दै उसले वार्तामा बस्न अस्वीकार गरिरहेको छ।

आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन क्षेत्र र बुथमा केन्द्रित गरी अन्य दललाई चुनाव प्रचार प्रसार गर्न निषेध गर्ने माओवादी उपाध्यक्ष सिपी गजुरेलले बताए।

संविधानसभाको चुनाव तिथि पुनर्विचार र सरकारको विघटन लगायतका मागबारे छलफल गर्न सरकार र मुख्य दल तयार भए वार्तामा बस्न पनि माओवादी तयार रहेको उनले बताए।

तर हथौडाले मतपेटिका फुटाएर गरेको आन्दोलनको उदघोषलाई कतिपयले माओवादीको चुनाव विथोल्ने ढृढताका रुपमा अर्थ्याएका छन्।

नयाँ पत्र

प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले बिहीवार वार्ताको प्रस्ताव अस्वीकार गरिरहेको माओवादी सहितका ३३ दललाई वार्ताको आव्हान गर्दै नयाँ पत्र पठाएको छ।

एकीकृत माओवादीका एकजना नेता पोष्ट बहादुर बोगटीले असन्तुष्ट दलहरुसँग निशर्त वार्ता गर्न राजनीतिक समिति तयार रहेको बताए।

“सरकारको फेरबदल र चुनावको मिति सार्ने माग पुरा गर्न सकिंदैन भनेर हामीले भनिसकेका छौं। उहाँहरुलाई वार्ताको टेबुलमा नै आएर आफ्ना सबै माग राख्न हामीले आग्रह गरेका छौं,” बोगटीले भने।

नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले पछिल्लो पत्र ‘पहिले भन्दा सकारात्मक’ रहेको प्रतिक्रिया दिए।

उनले ३३ दलको बैठक बसेर राजनीतिक समितिलाई पत्रको जवाफ पठाइने पनि बताए।