मंसिरमा निर्वाचन गराउन भारतीय जोड

  • 26 जुलाई 2013
Image caption पूर्व प्रधानमन्त्री माधव नेपाल र भारतीय प्रधानमन्त्री मनमोहनसिंहबीच दिल्लीमा कुराकानी भएको थियो

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भारतका प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा मंसिरमै चुनाव गरेर संक्रमणकाल छोट्याउन सुझाव दिएको बैठकमा सहभागी एकजना नेताले बताएका छन्।

केहि पहिले आफ्ना विदेश मन्त्री सलमान खुर्शिदलाई चुनावी सन्देश सहित नेपाल भ्रमणमा पठाएको भारतले नेपालका वरिष्ठ नेताहरुलाई भारतमै निम्त्याएर मंसिरमै चुनाव होस भन्नेमा जोड दिइरहेको छ।

पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच शुक्रबार भएको कुराकानीमा उपस्थित एमाले महासचिव इश्वर पोखरेलले भने, "घोषणा गरिएको मितिमा निर्वाचन हुनुपर्छ, त्यसका लागि सबै पक्ष लाग्नुपर्छ भन्ने आफ्नो धारणा राख्नुभएको छ उहाँले।"

चुनावमा जोड

असारमा चुनाव गर्ने भनेर बनाएको सरकारले बल्लतल्ल मंसिर ४ गते गर्ने गरी चुनावको मिति घोषणा गरेको छ।

तर मंसिरमै चुनाव होला भन्नेमा शंकाको गाइगुइँ देशभित्र क्रमश बढ्दै जाँदा भारतले नेपाली नेताहरुसँग मंसिरमै चुनाव गर भन्ने जोड दिन थालेको देखिएको छ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा तथा एमाले बरिष्ठ नेता माधव नेपालको भ्रमणपछि भारतले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई समेत निम्तो पठाइसकेको छ।

भारतले प्रमुख दलका वरिष्ठ नेताहरुलाई बोलाइ बोलाइ मंसिरमै चुनाव भन्नेमा जोड किन दिइरहेको होला? भन्ने प्रश्नको जवाफमा एमाले महासचिव पोखरेलले भने, "निर्वाचन भयो, विघटन भयो, रिक्त स्थिति छ। त्यसलाई ख्याल गरेर लीकबाहिर गएको प्रक्रिया लीकमा ल्याउनुको विकल्प छैन उहाँहरुले संक्रमणकाल छिटो टुंग्याउ भनेर यसमा सुझाव दिनु या धारणा राख्नुलाई अन्यथा लिनुपर्ने कारण छैन।"

अभियान

देशभित्र असन्तुष्ट समूहहरुले चुनाव विरोधी अभियान शुरु गरेका छन्।

क्षेत्र निर्धारणको मुद्दा हल भइसकेको छैन।

निर्वाचन आयोगले चार हप्ताभित्र राजनीतिक वातावरण तयार पार्नुपर्ने यसै साता सार्वजनिक गरिसकेको छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, आन्तरिक समस्या समाधानमा ध्यान दिनुपर्ने अन्तिम घडिमा भइरहेको नेताहरुको भारत दौडाहालाई आलोचकहरु नेपाली नेताहरुको विदेशीको मुख ताक्ने प्रवृत्तिको रुपमा औंल्याउँछन्।