इजिप्टमा हिंसात्मक भीडन्त, धर्ना जारी

  • 28 जुलाई 2013
इजिप्टका प्रदर्शनकारी
Image caption प्रदर्शनकारी र सुरक्षा सैन्यबीच रक्तपातपूर्ण हिंसा भएकोमा सर्वत्र निन्दा गरिएको छ

इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले राजधानी कायरोको पूर्वमा अवस्थित एउटा मस्जिदमा धर्ना दिने कार्यलाई जारी राखेका छन्।

जुलाई महिनाको आरम्भतिर मोहम्मद मोर्सीलाई अपदस्थ गरिए यता भएको सबैभन्दा हिंसात्मक घटनाको एकदिनपछि त्यस्तो धर्ना जारी रहेको छ।

उक्त रबा अल अदावीया मस्जिदमा जम्मा भएको भींड नजिकैको सडकमा उत्रन थालेपछि सुरक्षा सैन्यसंग भएको भीडन्तमा कम्तीमा ६५ जनाको ज्यान गएको थियो।

मोर्सी समर्थक मुस्लीम ब्रदरहुडले निशस्त्र प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको आरोप लगाएका छन् भने इजिप्टका आन्तरिक मामिला मन्त्री मोहम्मद इब्राहिमले त्यस्तो आरोपको खण्डन गरेका छन्।

चेतावनी

आन्तरिक मामिला मन्त्री मोहम्मद इब्राहिमले, अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुलाई तिनीहरुले धर्ना दिइरहेको स्थानबाट छिटै नै हटाउने चेतावनी दिएका छन्।

उनले उक्त विरोध प्रदर्शनस्थल नजिकका बासिन्दाले आफूहरुलाई असुरक्षा भएको भन्दै दायर गरेका मुद्दाले प्रदर्शनकारीहरुलाई हटाउने कार्यलाई कानुनी आधार दिएको पनि बताएका छन्।

तर हजारौं प्रदर्शनकारीहरुले आफूहरु उक्त रबा अल अदावीया मस्जिदबाट नहट्नेमा जोड दिएका छन्।

उक्त क्षेत्रमा सुरक्षा सैन्य र प्रदर्शनकारीहरुबीच रक्तपात पूर्ण हिंसात्मक झडप भएको थियो र चिकित्सकहरुले त्यसमा एकसयजना भन्दा बढी मारिएका हुन सक्ने दावी गरेका छन्।

स्वास्थ्य मन्त्रालयले मारिनेका संख्या ६५ भएको बताएको छ।

दोष

मोहम्मद मोर्सीको मुस्लीम ब्रदरहुडले मृत्युका लागि सेनालाई दोष दिंदै सैनिकहरुले ज्यानै लिने उद्देश्यले गोली चलाएका बताएको छ।

एकजना प्रदर्शनकारीले आफूहरुसंग ढुंगा पनि नभएको तर सुरक्षा सैन्यले गोली चलाएको बताए, “यो आमहत्या हो। सैनिकहरुले हामीलाई अचानक हमला गरेका छन्, हामीसंग ढुंगा पनि छैन। हामीले ढुंगा पनि प्रहार गरेका छैनौं।“

तर सरकारले त्यो आरोपलाई खण्डन गर्दै सुरक्षा सैन्यले गोली नभई अश्रु ग्यास मात्र प्रहार गरेकोमा जोड दिएको छ।

तर कायरोमा रहेका बीबीसीका क्वेन्टीन सोमरभिल भन्छन्, घटनाको गम्भीरता, त्यसमा ज्यान गएका र घाइते भएकाहरुको संख्यालाई विचार गर्दा सरकारी दावीमा सत्यता देखिंदैन।

भीडन्तस्थलमा अश्रु ग्यास, सट गनका पेलेट र गोलीका खोलहरु नै प्रमाणमा रुपमा रहेका छन्। हाम्रा सम्बाददाता भन्छन्, गए रात र विहानैसम्म पनि भीडन्त जारी थियो।