बर्ड फ्लु नेपालमा रैथाने भइसक्यो: विज्ञहरु

  • 29 जुलाई 2013
Image caption काठमाडौं लगायतका ठाउँमा बारम्बार दोहोरिने गरेको बर्ड फ्लु रैथाने बनिसकेको विज्ञहरुले बताएका छन्

काठमाडौं, भक्तपुर, धादिङ, पोखराका विभिन्न कुखुरा फार्महरुमा फैलिएको बर्ड फ्लु नियन्त्रण गर्न सरकारले सतर्कता बढाएको जनाएको छ।

बर्ड फ्लु यहाँ रैथाने भइसकेको अनुमान गर्दै विशेष सतर्कता अपनाउनुपर्ने बेला भइसकेको विज्ञहरुले बताएका छन्।

केहि समययता काठमाडौं वरपरका विभिन्न स्थानमा पटक पटक बर्ड फ्लु दोहोरिएको छ।

मानिसमा नसरोस् भन्ने सतर्कता स्वरुप बर्ड फ्लु संक्रमित हजारौं हाँस, कुखुरा, अण्डा र दाना नष्ट गरिएको स्वास्थ मन्त्रालयका सचिव डा. प्रवीण मिश्र बताउँछन्।

उनी भन्छन्, "काठमाडौं, भक्तपुर र कास्कीका जिल्ला जनस्वास्थ्य कार्यालयहरुले एपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी नियन्त्रणको क्रियाकलाप गरिरहेको छ।"

रैथाने

पहिले पहिले जाडो याममा मात्र देखिने गरेको बर्ड फ्लु अब वर्षैभरी देखिनेगरी यहाँ रैथाने बनिसकेकाले बारम्बार महामारी फैलिने गरेको बर्ड फ्लुबारेका जानकार डा. मानस बनर्जी बताउँछन्।

बर्ड फ्लुका कारण काठमाडौंमा मात्र गत मंसिर यता ५० हजार जति कुखुरा नष्ट गरिसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्त गौतमले बताए।

भक्तपुरमा केहि दिन यता दुई हजार जति कुखुरा नष्ट गरिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए।

नेपालमा अहिलेसम्म मानिसमा पक्षीबाट बर्ड फ्लुको भाइरस सरेको रेकर्ड गरिएको छैन।

घातक

तर मानिसमा सरे घातक हुने चिकित्सकहरु बताउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१२सम्ममा विश्वभर गरी झण्डै साढे तीनसय मानिस बर्ड फ्लु सरेपछि मरेका थिए।

मानिसमा महामारी फैलिएमा ठूलो नोक्सान हुने भएकैले बर्ड फ्लुबाट बच्न विश्वव्यापी रुपमा उच्च सतर्कता अपनाइंदै आएको छ।

सतर्कता

उपभोक्ताहरु स्वयंले अपनाउनुपर्ने सतर्कताबारे डा. बनर्जी भन्छन्, "बर्ड फ्लु भएका कुखुराहरु श्रोतमै समाप्त पार्नुपर्छ, पकाएको खाएपछि रोग सर्दैन भनेर संक्रमित कुखुरा खानुहुँदैन।"

बर्ड फ्लुबाट बच्न संक्रमण क्षेत्र वरपरका बासिन्दाले विशेष सतर्कता अपनाउनुपर्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने र संक्रमित चरा, चराको दिशा, अण्डा या दानासँग सम्पर्क भए उपचारमा गइहाल्नुपर्ने डाक्टरहरु बताउँछन्।