‘यथास्थितिमा वार्तामा नबस्ने’

  • 30 जुलाई 2013
cpn-Maoists
नेकपा माओवादीले मंसिर चार गतेको चुनाव विथोल्न आन्दोलनको घोषणा गरेको छ

नेकपा माओवादीले नेतृत्व गरेको मोर्चाले उच्च‌स्तरिय राजनीतिक समितिले पठाएको पत्रको भाषामा असन्तुष्टी जनाउँदै यथास्थितिमा वार्तामा नबस्ने निर्णय गरेको छ।

उनीहरूले सतारुढ पक्षले गरेको वार्ता आव्हान निशर्त भएमात्र बार्तामा बस्न सकिने जवाफ सरकार र मुख्य दलहरुलाई पठाउने निर्णय गरेका हुन्।

मंसिर चारको चुनाव मिति खारेज, वर्तमान सरकारको बहिर्गमन लगायतका विषयमा वार्ता गर्न पनि मुख्य दलहरु तयार हुनुपर्ने माग गरिरहेका असन्तुष्ट दलहरुले आफ्नो आन्दोलन चर्काउने निर्णय पनि गरेका छन्।

मंगलबार दोस्रो दिन बसेको मोर्चाको बैठकले उच्चस्तरीय राजनितीक समितिले गरेको पछिल्लो वार्ता आह्वानले पनि संविधानसभा निर्वाचनमा भाग लिन शर्त राखेको भन्दै सतारुढ दलहरु निशर्त वार्ता गर्न तयार हुनुपर्ने माग गरेको छ।

निशर्त

वार्ता आह्वान गर्दै पठाइएको पछिल्लो पत्रको भाषाले ३३ दलीय मोर्चालाई होच्याइएको आफूहरुले महसुस गरेको नेकपा माओवादीकी प्रवक्ता पम्फा भुषालले बताईन्।

“अहिले आएको चिठ्ठी चर्चामा सुनिएको ३३ दलिय भनेर अलि अपमानीत गर्ने किसिमले लेखिएको र घोषित निर्वाचनमा सहभागी हुन भनेर बोलाएको जस्तो भाव देखिएकाले निशर्त र सम्मानजनक पत्र आएमा वार्तामा बस्ने निर्णय गरेका छौं।”

आन्दोलनरत मोर्चाले वर्तमान सरकार निर्माण गर्दा गरिएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअडकाउ खारेजी लगायत विषयमा पनि छलफल गर्न सत्तारुढ दलहरु तयार हुनुपर्ने माग गर्दै आएको छ।

निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै पर्चा वितरण र भित्ते लेखन गरिरहेका नेकपा माओवादीका केही कार्यकर्तालाई प्रशासनले धरपकड गरेको भन्दै मोर्चाले विरोध जनाएको छ।

उनीहरुले देशका विभिन्न ठाउँहरुमा विरोध सभा गरी निर्वाचन आयोगको आचारसंहिता जलाउने कार्यक्रम तय गरेको बताएका छन्।

आलटाल

सतारुढ दलहरुले आफूहरु निशर्त वार्ता गर्न तयार रहेको जानकारी नेकपा मओवादी र उसले नेतृत्व गरेको मोर्चालाई गराएपनि उनीहरुले वार्ताको लागि आलटाल गरिरहेको प्रतिक्रिया दिएका छन्।

एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक समितिले निशर्त वार्ता गर्न माओवादीलाई दुईपटक पत्र पठाएको उल्लेख गर्दै वार्ताको ढोका अझै खुल्ला रहेको बताए।

“समाधान खोज्नलाई निशर्त टेबुलमा पो बस्नुपर्छ, वार्ता नै गर्दिन भन्नु औचित्यपुर्ण भएन्। त्यो वहाँहरुको सार्वजनिक प्रतिबद्धताको पनि विपरित भयो हामी यसलाई सकारात्मक रुपमा लिन सक्दैनौं।”

वार्ता आह्वान गर्दा प्रेषित गरिएको पत्रको भाषालाई बहाना बनाउँदै सतारुढ र विपक्षी दलहरुले अहिलेसम्म औपचारिक वार्तालाई टारिरहेका छन्।

यसबीचमा नेकपा माओवादीले चुनाव विथोल्ने चेतावनी दिएकोले मंसिर चार गते निर्वाचन हुनेमा कतिपयले आशंका गरिरहेका छन्।