तालिबानद्वारा सयौं बन्दी जेलबाट भगाइए

  • 30 जुलाई 2013
Image caption कराचीस्थित कारागारमा पनि उग्रवादीहरूले आक्रमण गर्ने योजना बनाएका खुलासा भएको थियो

तालिबान विद्रोहीहरूले उत्तर पश्चिम पाकिस्तानस्थित एउटा कारागारबाट २४३ बन्दीहरू भगाएका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार भगाइएकाहरू मध्ये ३० जना चरमपन्थी उग्रवादीहरू हुन्।

सो आक्रमणमा छ प्रहरी अधिकारी र केही उग्रवादीहरू मारिएका बताइएको छ।

देरा इस्माइल खान शहरमा भएको सो आक्रमणको शुरूमा सोमबार मध्यरात एक ठूलो विष्फोटन भएको थियो।

प्रहरी प्रमुख सोहाइल खलिलले बन्दुकधारीहरूले रकेट प्रक्षेपित ग्रिनेड प्रहार गर्नुका साथै मशिनगन बन्दुक पनि प्रयोग गरेका बताए।

सो शहर पाकिस्तानको अशान्त पहाडी आदीवासी क्षेत्र नजिकैको खैबर पख्तुन्ख्वा प्रान्तमा रहेको छ।

त्यहाँ रहेको कारागारमा सयौं तालिबान विद्रोही र प्रतिबन्धित समुहहरूका उग्रवादीहरू राखिएका छन्।

लडाईं

कैदीहरू भगाउन उग्रवादीहरूले आक्रमण गरेपछि उनीहरू र सुरक्षार्मीहरू बीच झण्डै चार घण्टासम्म लडाईं भलेको थियो।

त्यसमा छ प्रहरी अधिकारी लगायत १२ जना मारिएका थिए।

गोली हानाहानमा घाइते भएका एक प्रहरी जवानले भने, “गोली चल्ने बित्तिकै हामी सशस्त्र प्रहरीको एउटा गाडीमा बस्यौं र कारागारको मूलद्वारलाई त्यही गाडीले छेक्यौं।

“हामीले आक्रमणकारीहरूमाथि गोली चलाउन थालेका मात्र के थियौं, हाम्रो गाडीमाथि नै एउटा रकेट वा मोर्टार प्रहार गरियो।“

आक्रमणकारीहरूले तीनले भगाउन खोजेका बन्दीहरूका नाम माइक प्रयोग गरी बोलाएका थिए।

देरास्थित सो कारागारमाथिको आक्रमण प्रहरीले उग्रवादीहरूको एक समुहलाई पक्राउ गरेको जनाएको एक महिनापछि भएको छ।

ती उग्रवादीहरूले कराचीस्थित केन्द्रिय कारागारमा आक्रमण गर्ने योजना बनाएका थिए।

रणनीतिमा परिवर्तन

यी सबै घटनाहरूले तालिबानहरूले आफ्नो रणनीतिमा परिवर्तन ल्याएको देखाएका छन्।

उनीहरूले पहिले मानिस अपहरण गरेर आफ्ना मान्छेलाई कारागारबाट छुटाउन अधिकारीहरूलाई दवाव दिने गर्दथे।

अब त्यसो गर्नु साटो उनीहरूले कारागारहरूमा आक्रमण गरेर आफनो मान्छे छुटाउन थालेका छन्।

पाकिस्तानका जासूसी संस्थाहरूले देरामा त्यस प्रकारको आक्रमण हुनसक्ने चेतावनी केही समयअघि दिएका थिए।

त्यस सम्बन्धमा केही पनि नगरिएको भन्ने भनाइहरुले सरकारलाई अप्ठेरोमा पारिदिएको इस्लामाबादस्थित बीबीसी संवाददाता एम इल्यास खानले जनाएका छन्।

उनले भन्छन्, “संसदले नयाँ राष्ट्रपति चयन गर्ने दिनमै तालिबानले गरेको यो आक्रमण सरकारका लागि ठूलो लज्जाको विषय बनेको छ।

“यद्यपी यो आक्रमण त्यही उद्धेश्यले गरिएको हो कि होइन भन्ने कुरा कहिल्यै स्पष्ट नहुन सक्छ।

राष्ट्रपति असिफ अली जर्दारीको उत्तराधिकारीको चयन संसदका दुवै सभा तथा चार प्रान्तीय सभाहरूले गर्दैछन्।

सो आक्रमणले उग्रवादीहरूले चाहेको बेलामा र चाहेको समयमा हमला गर्न सक्ने कुरा प्रष्ट पारिदिएको विश्लेषकहरूले बताएका छन्।