वार्ताबारे वैद्य नेतृत्वको मोर्चाको बैठक

  • 30 जुलाई 2013
नेकपा माओवादीका नेताहरु
Image caption चुनाव विथोल्ने विरुद्ध कडा कारवाही गर्ने सरकारको भनाईपछि असन्तुष्टहरुको बैठक बस्दै छ

मोहन वैद्य नेत्तृत्वको माओवादीसहित दुई दर्जनभन्दा बढी असन्तुष्ट दलको मोर्चाले मंगलबार बैठक बसी सरकारसँग वार्तामा जाने कि नजाने भन्ने विषयमा टुङ्गो लगाउने भएको छ।

सरकार समर्थित मुख्य दलबाट वार्ताका लागि दुई पटक पत्र पाइसकेको मोर्चाका दलहरु वार्तामा बस्ने कि नबस्नेमा अझै अन्योलमै छन्।

आन्दोलन

वैद्य नेत्तृत्वको माओवादीसहितको असन्तुष्ट दलहरुको मोर्चाले मंगलबार दिउँसो बैठक बसी आन्दोलनका चरणवद्ध कार्यक्रमहरु घोषणा गर्न सक्ने माओवादी नेता देव गुरुङले बताए।

सरकारले मंसिरमा निर्वाचन गर्नुपर्ने सर्त सहित पत्र पठाएकोले वार्तामा जानुको साटो आन्दोलनका कार्यक्रम आउन सक्ने धारणा राख्दै उनले भने, “हामीले पनि मंसिरमा चुनाव गर्न नहुने सर्त राख्यौं भने के हुन्छ? त्यसैले निर्वाचन केन्द्र केन्द्रित प्रचारात्मक कार्यक्रमहरु चरणवद्ध ढंगले तर्जुमा हुनसक्ने सम्भावना छ। स्वरुप कस्तो हुने भन्ने चाहिं बैठकले तय गर्नेछ।”

गएको साउन ८ गते मोर्चा सम्वद्ध दलहरुको चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सकिएको थियो।

हाल ३३ दलीय मोर्चाबाट पाँच दल बहिरिएकाले २८ दल मात्र बाँकी छन्।

विरोध

वर्तमान गैरदलीय सरकारको साटो राजनीतिक सहमतिमा अर्को सरकार बनाएर अनुकूल समयमा निर्वाचन गर्नुपर्ने वैद्य नेत्तृत्वको मोर्चाको धारणा रहिआएको छ।

उसले वर्तमान सरकार गठन गर्नु ताका गरिएका सहमति र संवैधानिक वाधा अड्काउ फुकाउने आदेशको पनि खारेजीको माग गरेको छ।

तर ती मागप्रति एकीकृत माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस र तराई केन्द्रित दलहरुको मोर्चा भने सहमत छैनन्।

सरकार कडा

चुनाव बिथोल्न वैद्य नेत्तृत्वको माओवादीले मत पेटिकालाई हथौडाले हानेर सांकेतिक विरोध जनाएको बेला सरकारले भने चुनाव बिथोल्ने प्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ।

चुनावको सुरक्षाको निम्ति रणनीति तय गर्न सबै सुरक्षा निकायका प्रमुखहरु सहित सोमवार मध्यरात सम्म काठमाडौंमा बैठक समेत बसेको थियो।