जिम्बाब्वेमा मतदान हुंदै

  • 31 जुलाई 2013
मुगाबे आफ्ना समर्थकहरुसंग
Image caption राष्ट्रपति मुगाबे गएको तेत्तीस बर्षदेखि सत्तामा छन्

जिम्बाब्वेका जनताले मतदाता नामावलीमा अनियमितता भएको भन्ने आरोपहरुबीच कडा प्रतिस्पर्द्धा भैरहेको चुनावमा भाग लिइरहेका छन्।

गएको तेंत्तीस बर्षदेखि सत्तामा रहेका जिम्बाब्वेका उनान्नब्बे बर्षीय नेता रोबर्ट मुगाबेले यदि आफु तथा आफ्नो जानु पिएफ दल चुनावमा पराजीत भएमा आफुले पद त्याग्ने जनाएका छन्।

उनको मुख्य प्रतिस्पर्द्धा उनलाई तेश्रो पटक पदबाट हटाउने प्रयास गरिरहेका मुभमेन्ट फर डेमोक्रयाटिक चेन्ज दलका मोर्गान चाङगिराइसंग भैरहेको छ।

मतदान

मतदान केन्द्रहरु खुल्नुभन्दा घन्टौं अगाडिदेखि मानिसहरु भोट खसाल्न लामो लाइनमा बसेका थिए।

बिहान निकै जाडो भएकाले कैयौं मानिसहरुले कम्बल ओढीरहेका थिए।

त्रास फैलाउन खोजिएका केही घटनाहरुबाहेक चुनावी अभियान सामान्यतया शान्तिपूर्ण रहेको थियो।

रोयटर्स समाचार संस्थासंग बोल्दै पश्चिमी प्रान्त मनिकाल्याण्डका एकजना मतदाता क्लिफोर्ड चासाकाराले भने, "म बिहान चार बजे नै उठेको थिएं। तर म मतदान केन्द्रमा आईपुग्दा म भन्दा पहिले अरु मानिसहरु आईपुगेका थिए।"

सन् २००८ को विवादित तथा हिंसापूर्ण राष्ट्रपतीय चुनाव पछि जानु प‌िएफ तथा एमडिसी दल एउटा गठबन्धन बनाउन सहमत भएका थिए।

तर उनीहरुबीच संधैभरि एउटा असहज संबन्ध रहेको थियो।

मतदान पछि एएफपि समाचार संस्थासंग बोल्दै मोर्गान चाङगिराइले भने, "आशंका, शत्रुता, द्वन्द्व र कटुतापछि यो हामी सबैकालागि एउटा महत्वपूर्ण क्षण हो।"

अनुगमन

जिम्बाब्वे सरकारले पश्चिमी मुलुकका पर्यवेक्षकहरुलाई निर्वाचन अनुगमन गर्न अनुमति दिएको छैन। तर स्थानीय संगठनहरु, अफ्रिकी संघ तथा दक्षिण अफ्रिकी विकास समुदायका प्रतिनिधिहरुलाई भने चुनावको पर्यवेक्षण गर्न अनुमति दिइएको छ।

जिम्बाब्वेमा मतदाताहरुको सँख्या झण्डै चौसठ्ठी लाख रहेको छ र मतगणनाको नतीजा आउन पांच दिनजति लाग्ने अनुमान गरिएको छ।

मङ्गलबार एमडिसी पार्टीले जानु पिएफमाथि मतदाता नामावलीमा धााँधली गरेको आरोप लगाएको थियो।

मतदाता नामावली हेरेका बीबीसीका एकजना संवाददाताले भने, उनले त्यहां हजारौं मृत व्यक्तिहरुको नाम भेटाएका थिए भने एउटै ठेगाना भएका मानिसहरुको नाम दोहोरो, तेहरो पनि पाइएको थियो।

मुगाबे र चाङगिराइबाहेक अन्य तीनजना उम्मेदवारहरु पनि राष्ट्रपति पदकालागि प्रतिस्पर्द्धा गरीरहेका छन्।

यदि कुनै पनि उम्मेदवारले कूल खसेको मतको पचास प्रतिशत मत नपाएमा आउंदो सेप्टेम्बर एघार तारिखका दिन सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवारहरुबीच दोश्रो पटक चुनाव हुनेछ।