राजनीतिक सम्बन्ध सुधार्न दिल्ली भ्रमण: कांग्रेस

  • 3 अगस्ट 2013
भारत भ्रमण कोइराला
Image caption केहि समयअघि मात्रै एमाले नेता माधव नेपालपछि कांग्रेस सभापति कोइरालाको भारत भ्रमण हुँदैछ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भारत सरकारको निम्तोमा दिल्ली जानु अघिल्लो दिन शनिबार काठमाण्डूमा राजनीतिक एवं कुटनीतिक परामर्श गरेका छन्।

आइतबारदेखि शुक्रबारसम्म हुने उनको भ्रमणको कार्यतालिका भारतीय विदेश मन्त्रालयको वेबसाइटमा शनिबार साँझ प्रकाशित गरिएको छ।

यसअघि भएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपालको भ्रमणका बेला कार्यतालिका प्रकाशित गरेको थिएन।

तर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको भ्रमण कार्यतालिका प्रकाशित गरिएको थियो।

नेपालबाट भइरहेका उच्च नेताहरुको श्रृंखलावद्ध भारत भ्रमण क्रममा कोइराला आफ्नो पार्टीका दुईजना महामन्त्रीसहित दिल्ली जान लागेका हुन्।

भारतीय नेताहरुसँगको भेटमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका निम्ति भइरहेका प्रयास लगायतका राजनीतिक प्रसंगका साथै नेपाल-भारत खुला सीमा एवं बाढी र डुबानका समस्याबारे पनि कुरा हुने कोइरालाको भ्रमण दलका एकजना सदस्यले बताएका छन्।

उपयोग

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पालादेखि भारतका राजनीतिक दलबीच रहेको तर पछिल्लो समयमा टुटेको भनिएको विशेष राजनीतिक सम्बन्ध सुधारको मौकाको रुपमा पनि उपयोग गर्ने महामन्त्री प्रकाशमान सिंहले बताए।

उनले भने, "दल दलबीच राजनीतिक सम्बन्धले राजनीतिक समस्या समाधानलाई सहज बनाउने भएकाले काँग्रेस आइ, बीजेपी लगायत अन्य दलहरुसँग पनि हाम्रो राष्ट्रिय हितका लागि सम्बन्ध सुधारको मौकाको रुपमा उपयोग गर्नेछौं।"

नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीसँग भने कोइरालाले भारतसँग सीमा समस्या, डुबान र बाढीबारे कुरा उठाउने तयारी गरेको महामन्त्री सिंहले बताए।

कोइरालाले त्यहाँको प्रमुख सत्तारुढ दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह तथा विपक्षी नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।

परामर्श

भ्रमणको अघिल्लो दिन शनिबार कोइरालाले परराष्ट्रवीद तथा भारतका लागि पूर्व राजदूतहरुसँग परामर्श गरेका छन्।

परामर्शमा सहभागी भारतका लागि पूर्व राजदूत तथा राजनीतिशात्री डा लोकराज बरालले भने, "भारतले सबै पक्षका नेताहरुलाई निम्त्याएर उच्चतहको राजनीतिक सदभाव भ्रमण भएको छ, त्यो सकारात्मक छ।"

भारतसँग सहज सम्बन्ध नरहेको भनिने सुशील कोइरालापछि असहज सम्बन्ध भएका भनिने अर्का एमाले अध्यक्ष झलनाथ खनालको भारत भ्रमण तय भएको बताइन्छ।

चलखेल

कुनैबेला दुई देशका राजनीतिक नेता र दलहरुबीच निकटको सम्बन्ध रहेको र यहाँका राजनीतिक परिवर्तनमा त्यहाँको प्रत्यक्ष प्रभाव रहने गरेको गरेको बताइन्छ।

पछिल्लो समयमा त्यस्तो सम्बन्ध टुटेको र नेपालको राजनीतिक घटनाक्रमबारे भारतीय सरकार त्यहाँका कर्मचारीको विश्लेषणमाथि भर पर्ने गरेको र नेपालमा भारतीय गुप्तचर एजेन्सी रका अधिकारीहरुको चलखेल बढेको टिप्पणी जानकारहरुले गर्ने गरेका छन्।

नेताहरुका पछिल्ला भ्रमण उच्चतहको राजनीतिक सम्बन्धलाई बढावा दिने खालका र सकारात्मक रहेको एकथरीको टीप्पणी रहेपनि आलोचकहरुले भने देशभित्र राजनीतिक संकट गहिरिएका बेला भारत दौडाहामा लाग्नु नेपाली नेताहरुको परनिर्भरताको रुपमा औंल्याउने गरेका छन्।