ट्रान्सफर्मर खरीद प्रकरणमा अनुसन्धान जारी

  • 5 अगस्ट 2013
विद्युत ट्रान्सफर्मर
Image caption ट्रान्सफर्मरमा तामाको तार हुनु पर्नेमा एलुमिनियमको तार पाइएपछि अनियमितताको गन्ध आएको हो

नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरीदका क्रममा भएको अनियमिताबारेको अनुसन्धान सकिन अझै केही दिन लाग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन्।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय आयोगले विद्युत प्रवाह तथा वितरणका क्रममा प्रयोग गरिने एक उपकरण ट्रान्सफर्मर खरिदको क्रममा ठूलो धनराशीको अनियमितता भएको भन्दै त्यसमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हिरासतमा लिइएका मध्ये १० जना नेपाल विद्युत प्राधिकरणका अधिकारी छन् भने दुई जना ट्रान्सफर्मर आपूर्ति गर्ने चीनको हुवेइ कम्पनीका अधिकारीहरु छन्।

सापकोटाले भने, “दुई चिनियाँ सहित सात जनालाई हिरासतमा राख्न विशेष अदालतबाट म्याद पाइसकेका छौं।”

'हिरासतमा'

उनले अन्य पाँच जनालाई पनि हिरासतमा राख्न अदालतबाट म्याद सोमबार म्याद मागिने बताए।

करीब २,००० थान ट्रान्सफर्मर खरिदको लागि नेपाल विद्युत प्राधिकरणले विश्वव्यापी टेन्डर आह्वान गरेपछि चिनियाँ हुवेइ कम्पनी छानिएको थियो।

ती उपकरण खरीद गर्न प्राधिकरणले ३० करोड रुपैंयाँ खर्च गरेको थियो।

ट्रान्सफर्मर भित्र प्रयोग गरिने तार तामाको हुनु पर्नेमा एलुमिनियमको पाइएपछि आर्थिक अनियमितता गरिएको आशंकामा अख्तियारले केही समय अघि देखि अनुसन्धान थालेको थियो।

सापकोटाका अनुसार प्राधिकरणले गरेका अन्य खरीद प्रकरणहरुमाथि पनि अनुसन्धान भइरहेको छ।

उनका अनुसार अख्तियारले नेपाल टेलिकमभित्र अनियमितता भएकाबारे परेका उजुरीमाथि पनि छानबीन तथा अनुसन्धान गरिरहेको छ।