टर्कीमा भूपू सेनाप्रमुखलाई आजीवन जेल सजाय

  • 5 अगस्ट 2013
टर्कीका प्रदर्शनकारीहरु
Image caption प्रदर्शनकारीहरुले अदालत रहेको भवनतर्फ जाने प्रयास गरेका थिए

टर्कीको एउटा अदालतले सरकारलाई अपदस्थ गर्न खोजेको अभियोग लागेका सेनाका एकजना भूतपूर्व प्रमुखलाई आजीवन जेल सजायको फैसला सुनाएको छ।

टर्कीको सेनाका भूतपूर्व प्रमुख जनरल इलकेयर बासबुग लगायत दुई सयपचहत्तरजना वरिष्ठ सैनिक अधिकारीहरु, पत्रकार तथा प्राज्ञहरु विरुद्ध राज्यद्रोहको अभियोग लगाइएको थियो।

इस्लामवादी प्रधानमन्त्री ‌ रेजेप तायिप एर्दोआन तथा उनका धर्मनिरपेक्ष विपक्षीहरुबीचको द्वन्द्वको परिणामको रुपमा लिइएको पांच बर्षसम्म चलेका ती मुद्दाहरुमा केही अभियुक्तहरुलाई सैंतालिस वर्षसम्मको जेल सजाय सुनाइएको थियो।

पांच बर्षसम्म चलेका मुद्दा पछि अदालतको फैसला सुन्न अदालतबाहिर मानिसहरुको भीड लागेको थियो।

अभियोग

प्रधानमन्त्री एर्दोआनले नेतृत्व गरेको सरकारलाई सत्ताच्युत गर्न खोजेको अभियोग लागेकाहरुमध्ये टर्कीको सेनाका भूतपूर्व प्रमुख जनरल इलकेयर बासबु पनि थिए।

उनले आफु विरुद्ध लगाइएका अभियोगहरुलाई अस्वीकार गर्दैआएका थिए। तर उनी लगायत सेनाका कैयौं भूतपूर्व जनरलहरुलाई आजीवन जेल सजाय दिइएको छ।

प्रतिवादीहरु विरुद्ध एउटा कथित भूमिगत आतङ्ककारी सँगठन एर्गेनकोनको सदस्य भएको, गैरकानुनीरुपमा हातहतियार राखेको तथा सत्तारुढ न्याय तथा विकास पार्टी (एकेपि) ले नेतृत्व गरेको सरकार विरुद्ध सशस्त्र विद्रोह भडकाउन खोजेको जस्ता अभियोगहरु लगाइएका थिए।

सरकारी अभियोक्ताहरुले जनरल बासबुग लगायत नौ जना वरिष्ठ सैनिक अधिकारीहरुसमेत त्रिसठ्ठी जनालाई आजीवन कारावासको सजाय दिइनुपर्ने माग गरेका थिए।

जनरल बासबुगलाई राखिएको उच्च सुरक्षायुक्त सिलिभरी जेल परिसरमा बनाइएको एउटा विशेष अदालत कक्षमा न्यायाधीशहरुले फैसला सुनाएका थिए।

कम्तीमा पच्चीस जनाले सफाइ पाएका छन्।

पक्राउ

एर्दोआनले सन् २००२ मा सत्ता संहाले यता बहालवाला तथा सेवानिवृत्त समेत सैयौं सैनिक अधिकृतहरुलाई पक्राउ गरिसकिएको छ। उनले सेनालाई जननिर्वाचित सरकारको मातहत ल्याउन थुप्रै कदमहरु चालेका थिए।

तर आलोचकहरुले सरकारले विपक्षीहरु विरुद्ध विना प्रमाण अभियोगहरु लगाएको तथा धर्मनिरपेक्ष विपक्षीहरुलाई चुप लगाउन खोजेको आरोप लगाएका छन्। सरकारले छानीछानी एकेपि दलका विरोधीहरुलाई निशाना बनाएको उनीहरुको भनाइ छ।

विपक्षी रिपब्लिकन पिपुल्स पार्टीका एकजना सांसद मुहार्रेम इन्सले भने, “सरकारले झुठ्ठा प्रमाण तथा गोप्य साक्षीहरुको आधारमा यी मुद्दाहरु चलाएको हो।“

तर सरकारले ती आरोपहरुको खण्डन गरेको छ।

अदालतको फैसलाको विरोधमा सडक अवरुद्ध गर्न खोज्नेहरुलाई हटाउन प्रहरीले अश्रुग्यांस तथा पानीको फेाहरा प्रहार गरेका थिए।

टर्कीको सेनाले लामो समयदेखि आफुलाई देशको धर्मनिरपेक्ष संविधानको संरक्षकको रुपमा हेर्दै आएको छ।

उसले सन् १९६० देखि १९८० को बीचमा तीन पटक सत्ता विद्रोह गरेको थियो र एकेपि पार्टी तथा सेनाबीच लामो समयसम्म तनावपूर्ण संबन्ध रहेको थियो।

सन् १९९६-९७ मा सेनाले इस्लामवादी वेलफेयर पार्टीलाई जबर्जस्ती सत्ता छाडन वाध्य बनाएपछि गठन गरिएको एकेपि सोही पार्टीकै उत्तराधिकारी भएको ठानिन्छ