काश्मिरमा 'पाँच भारतीय सैनिकको मृत्यू'

  • 6 अगस्ट 2013
Image caption भारत र पाकिस्तानले काश्मिर क्षेत्रलाई विभाजन गर्ने सीमा नियन्त्रण रेखामा युद्धविराम सहमति गरेका थिए

विवादित काश्मिरस्थित भारत र पाकिस्तानबीच रहेको सीमा नियन्त्रण रेखा नजिक भएको आक्रमणमा पाँच भारतीय सैनिक मारिएका छन्।

भारतीय सरकारले सो घटनामा पाकिस्तानी सेनाको संलग्नता रहेको आरोप लगाएको छ।

पाकिस्तानी सेनले आफ्नो तर्फबाट गोली नचलेको जनाएको छ।

भारतीय रक्षामन्त्री एके एन्टोनीले ‌पाकिस्तानी सैन्य पोशाक लगाएका २० जना जती सशस्त्र मानिसले पूँच क्षेत्रमा एक भारतीय सैन्य गस्तीमाथि आक्रमण गरेको जानकारी संसदलाई दिएका थिए।

भारतको विदेश मन्त्रालयले दिल्लस्थित पाकिस्तानी सहायक उच्चायुक्तलाई बोलाइ कडा विरोध जनाइएको बताएको छ।

एक वरिष्ठ भारतीय सैनिक अधिकारीले पाकिस्तानी सेनाको कमाण्डोले भारती सैन्य गस्तीलाई धरापमा पारेको बीबीसीलाई बताए।

ती अधिकारीले उधम्पुर क्षेत्रमा भएको एक छुट्टै घटनामा पाकिस्तानी सेनाको गोलीले एक भारतीय सैनिक घाइते भएको पनि जनाए।

उनले भारतीय से‌नाले सो घटनामा जवाफी हमला नगरेको दावी पनि गरे।

'आरोप आधारहीन'

एक पाकिस्तानी सैनिक अधिकारीले भारतका दुवै आरोपहरू आधारहीन भएको बताए।

उनले पाकिस्तानपट्टिबाट कुनै गोली नचलेको पनि जनाए।

भारत र पाकिस्तानले शान्ति वार्ता पुन: थाल्न तयारी गरिरहँदा यी घटनाहरू भएका छन्।

पाकिस्तानमा नयाँ सरकार आएपछि पहिलो पटक वार्ता हुन गइरहेको हो।

शंका

भारतको जम्मु काश्मिर राज्यका मुख्य मन्त्री ओमार अब्दुल्लाहले भने, “यस्ता घटनाहरूले सम्बन्ध सामान्य बनाउन वा सुधार्न सहयोग पु-याउँदैनन्।

“यस्ता घटनाले पाकिस्तानी सरकारले शान्ति वार्ताकालागि हालै दर्शाएको इच्छामाथि शंका पैदा गरिदिन्छ।“

भारत र पाकिस्तान दुवैको दावी रहेको काश्मिर ६० वर्ष भन्दा बढी समयदेखि द्वन्द्वग्रस्त रहेको छ।

गत जनवरी महिनामा ‌सीमावर्ती क्षेत्रमा थुप्रै आक्रमणहरू भएपछि दुई देशको सम्बन्ध निकै नराम्रो बन्न पुगेको थियो।

सीमा क्षेत्रमा हुने गोली हानाहानकालागि दुई देशले एकले अर्कालाई दोष लगाउने गरका छन्।

ती घटनाहरूमा दुवै पट्टीका थुप्रै सैनिक र गैरसैनिकको मृत्यू हुनुको साथै धेरै मानिस घाइते भएका छन्।