इजीप्टको संकट समाधान गर्न आग्रह

  • 8 अगस्ट 2013
इजीप्टमा विरोध प्रदर्शनकारी
Image caption सरकारले प्रदर्शनकारीहरुको धर्ना शिविर भंग गरिदिने बताएको छ

इजीप्टको अन्तरिम सरकारले, त्यहांको संकट समाधानका लागि विदेशी मध्यस्थताको प्रयास असफल भएको बताएपछि अमेरिकाले इयुले राजनीतिक संकटका सबैपक्षलाई त्यहांको खतरनाक गतिरोध अन्त्य गर्न त्यस्तो आग्रह आएको छ।

एउटा संयुक्त बक्तव्यमा, तिनीहरुले समाधानको प्रकृयामा अघि बढ्नको लागि इजीप्ट सरकारको दायित्व बिशेष रहने बताएका छन्।

इजीप्टको सेना समर्थक सरकारले, अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले राजधानी कायरोमा धर्ना दिएर गरिरहेका विरोध प्रदर्शनलाई भंग गरिदिने बताएको छ।

हिंसा

गत जुलाई महिनाको आरम्भतिर मोहम्मद मोर्सीलाई अपदस्थ गरिए यता भएको हिंसामा धेरैको ज्यान गैसकेको छ।

त्यसपछि, अमेरिका, इयु, कतार र संयुक्त अरब इमिरेट्सका कुटनीतिज्ञहरुले इजीप्टको राजनीतिक प्रकृयालाई सहि बाटोमा ल्याउने प्रयास गरेका थिए।

तर विहीबार अन्तरिम राष्ट्रपति अड्ली मन्सुरको कार्यालयले एउटा विज्ञप्ती जारी गर्दै, कुटनीतिक प्रयासको चरण समाप्त भएको घोषणा गरेको थियो।

Image caption अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सी समर्थकहरुले उनको पुनर्स्थापनाको माग गरिरहेका छन्

राष्ट्रपति कार्यालयले, मोहम्मद मोर्सीको समर्थन गर्ने संगठन मुस्लिम ब्रदरहुडलाई लक्ष्यित गर्दै कुटनीतिक प्रयासको असफलताका निम्ति उक्त संगठन सम्पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ।

वक्तव्य

त्यस लगत्तै अमेरिकी विदेश मन्त्री जन केरी र इयुकी उच्चस्तरिय प्रतिनिधि क्याथरिन एशटनले संयुक्त बक्तव्य जारी गरेका थिए।

उक्त बक्तव्यमा भनिएको छ, हालको समयसम्म थप रक्तपातपूर्ण भिडन्तहरु रोकिएका बेला, सरकार र विपक्षी नेताहरुले अहिलेसम्म पनि गतिरोध अन्त्य गर्ने बाटो फेला पार्न नसकेको र विश्वासको वातावरण निर्माण नभएकोमा हामी चिन्तीत र दु:खी छौं।

कायरोस्थित सम्बाददाताहरु भन्छन्, अन्तरिम प्रधानमन्त्री हाजेम एल बेलावीले विपक्षीहरुको दुईवटा विरोध शिविरहरु भंग गरिदिने सरकारको दृढताको बताएपछि त्यहांको वातावरण तनावपूर्ण भएको छ।