‘मलेरिया विरुद्धको भ्याक्सिनको उत्साहजनक नतिजा’

  • 9 अगस्ट 2013
मलेरिया भ्याक्सिन
Image caption भ्याक्सिनमा मलेरियाको कारक परजीविलाई कमजोर बनाई मानिसमा प्रतिस्थापन गरिएको छ

विकिरणयुक्त लामखुट्टेहरुबाट निकालिएका कारक परजीविलाई सुईमार्फत मानिसहरुमा प्रतिस्थापन गर्दा तिनीहरुमा मलेरियाविरुद्ध प्रतिरोध क्षमताको विकास भएको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन्।

मलेरिया विरुद्धको भ्याक्सिनको विकासमा लागेका ती अनुसन्धानकर्ताहरुका अनुसार ठूलो मात्रामा दिईएको भ्याक्सिनले परीक्षणमा संलग्न १५ मध्ये १२ जनालाई मलेरियाबाट सुरक्षित बनाएको पाइएको थियो।

यस अनुसन्धानको तरीका अलि अनौठो छ। किनकि यसमा जीवित तर कमजोर मलेरियाका कारक परजीविलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सुईद्वारा सीधै मानिसमा हालिन्छ।

यो अनुसन्धान साईन्स नामक जर्नलमा छापिएको छ।

प्रकाशित अनुसन्धानका मुख्य लेखक अमेरिकाको म्यारील्याण्डको राष्ट्रिय स्वास्थ संस्था स्थित भ्याक्सिन अनुसन्धान केन्द्रका डा रोबर्ट सेडरले यो नतिजाले आफुहरु निकै उत्साहित भएको बताए।

“नतिजाहरु देखेर हामी निकै उत्साहित र रोमाञ्चित भएका थियौं, तर महत्वपुर्ण कुरा चाहिं यो प्रयोगलाई अझ धेरै पटक अझ धेरै मानिसहरुमा दोहोर्‍याउनु हो,” डा सेडरले भने।

‘अव्यावहारिक’

विकिरणयुक्त लामखुट्टेले मलेरियाबाट जोगाउन सक्ने कुरा त दशकौं देखि थाहा भएको कुरा हो।

यद्यपि अध्ययनहरुले के देखाएका छन् भने त्यो प्रकृयाबाट मलेरिया प्रतिरोधात्मक क्षमता बढाउनका लागि लामखुट्टेले हजार भन्दा बढी पल्ट टोक्नु पर्ने हुन्छ। त्यसैले स्वास्थ्य सुरक्षाका दृष्टिले यो प्रकृया अत्यन्तै अव्यावहारिक सिद्ध भएको थियो।

तसर्थ सानारिया नामको एक अमेरिकी बायोटेक कम्पनीले ल्यावमा हुर्काईएका लामखुट्टेलाई विकिरणयुक्त बनाई, तिनीहरुबाट मलेरियाका कारक परजीवि निकालेका छन्।

यी जीवित तर कमजोर बनाईएका परजीविहरुलाई त्यसपछि सुईको माध्यमले सीधै बिरामीको रगतमा पुर्‍याइयो।

यो भ्याक्सिनलाई PfSPZ को नाम दिइएको छ।

मानिसमा प्रयोग

पहिलो चरणको क्लिनिकल ट्रायलमा अनुसन्धानकर्ताहरुले पहिला कहिल्यै मलेरिया नभएका ५७ जना स्वयंसेवीहरुको समूहलाई लिएका थिए।

ती मध्येका ४० जनालाई फरक फरक मात्राको भ्याक्सिन दिएर तथा अन्य १७ जनालाई चाहीं कुनै भ्याक्सिन नदिइकनै मलेरियायुक्त लामखुट्टेहरुको सम्पर्कमा छाडियो।

कम मात्राको भ्याक्सिन दिइएका र भ्याक्सिनै नदिइएका सबै स्वयंसेवकहरु मलेरियाले ग्रस्त भएको अनुसन्धाकर्ताहरुले पाए।

जबकी धेरै मात्रामा भ्याक्सिन दिइएका १५ मध्ये तीन जनालाई मात्र मलेरिया लागेको पाइयो।

अनुसन्धानमा संलग्न डा रोबर्ट सेडरले यो अध्ययनले मात्रा एकदमै महत्वपूर्ण हो भन्ने कुराको पुष्टि गरेको बताए।

विश्व स्वास्थ्य संगठनका पछिल्ला विवरणहरुका अनुसार सन् २०१० मा करिव २२ करोड व्यक्तिलाई मलेरिया भएको थियो।

जसमध्ये साढे ६ लाखभन्दा बढीको मृत्य भएको थियो।