कांग्रेसले समानुपातिक बारे धारणा तय गर्दै

  • 10 अगस्ट 2013
नेपाली कांग्रेसका नेताहरु
Image caption कांग्रेसले समानुपातिकतर्फको सीट संख्याबारे आफ्नो धारणा तय गर्दैछ

आन्दोलनरत असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन मनाउनका निम्ति समानुपातिक तर्फ निर्वाचित हुनेको सीट संख्या बढाउने लगायतका विषयमा शनिबार नेपाली कांग्रेसले आन्तरीक छलफल गरी धारणा तय गर्ने उक्त दलका एकजना नेताले बताएका छन्।

पार्टि सभापति सुशील कोइराला भारत भ्रमण सिध्याएर शुक्रबार फर्किएपछि शनिबार कांग्रेसको आन्तरीक बैठक बस्न लागेको हो।

त्यसपछि सरकार समर्थक चार प्रमुख दल सामेल उच्चस्तरीय राजनीतिक समितिको वैठकमार्फत संयुक्त धारणा बनाइने बताइएको छ।

छलफल

खासगरी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल सम्बद्ध मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई फकाएर निर्वाचनमा ल्याउन समानुपातिकको सीट संख्या बढाउन सकिने विषयमा एकिकृत नेकपा माओवादी र संयुक्त मधेसी मोर्चा यसअघिनै सकारात्मक थिए।

नेकपा एमाले र कांग्रेसभने अझै टुंगोमा पुगिसकेका छैनन्।

शुक्रबार विभिन्न दलहरुबीच द्धिपक्षीय वार्ताहरु भए पनि यस विषयमा कांग्रेसले प्रष्ट जवाफ दिएन।

उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबारै राख्ने कुरा चल्दा आफ्ना सभापति सुशील कोइराला भारत भ्रमणबाट फर्किएपछि आन्तरीक छलफल गरेर धारणा तय गर्नका निम्ति भन्दै कांग्रेसले एक दिनको समय थप माग गरेको थियो।

कांग्रेसकै माग बमोजिम समय लम्ब्याएर, उसको आधिकारीक धारणा सुन्न समितिको बैठक बस्न लागेको हो।

धारणा

शनिबार बस्ने बैठकमा राख्ने धारणाबारे नेपाली कांग्रेसका नेता रामशरण महत भन्छन्, “फोरम नेपाललाई पनि अप्ठ्यारो नपरोस्। संघीय समाजवादी दललाई पनि अप्ठ्यारो नपरोस्। हाम्रो सल्लाह त्यही हो। अब सवैको एक मतले प्याकेजमा निर्णय हुन्छ।”

कांग्रेसको धारणा आएपछि समानुपातिकको सीट बढाउने विषयमा समितिको बैठकले औपचारिक धारणा तय गर्नेछ।

यसअघि प्रमुख दलहरुबीच भएको सहमति अनुसार प्रत्यक्ष तथा समानुपातिक तर्फ पचास, पचास प्रतिशत गरी तथा केही मनोनीत जोडेर जम्मा ४९१ सदस्यीय संविधानसभाको निर्वाचन गरिने भनिएको थियो।