गोप्य निगरानी कार्यक्रममा सुधार गर्छौं: ओबामा

  • 10 अगस्ट 2013
अमेरिकि राष्ट्रपति ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन
Image caption स्नोडेन प्रकरणपछि अमेरिका र रुसबीचको सम्बन्ध केही चिसिएको छ

संयुक्त राज्य अमेरिकाले सरकारी गोप्य निगरानीका कार्यक्रमलाई थप पारदर्शी बनाउन जरुरी भएको राष्ट्रपति बराक ओबामाले बताएका छन्।

हालै एकजना अमेरिकी पूर्व जासुस विश्लेषक एडवार्ड स्नोडेनले अमेरिकाले लाखौं अमेरिकीहरुमाथि सरकारले निगरानी गरेका सूचना चुहाएपछि राष्ट्रपति ओबामाको सो भनाई आएको हो।

स्नोडेन भागेर रुसमा शरण लिन पुगेपछि दुई देशबीच तनाव समेत बढेको छ।

प्रस्ताव

व्हाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ओबामाले निगरानीको दुरुपयोग विरुद्ध टेलिफोन सूचना संकलनबारेको कानुन संशोधन लगायतका सुरक्षा प्रावधानहरु प्रस्ताव गरे।

त्यसका निम्ति अमेरिकि कंग्रेससंग मिलेर काम गर्न आफु तयार रहेको उनले जनाए।

उनले स्नोडेन देशभक्त नरहेको बताएका थिए।

आलोचना

सोही सम्मेलनमा बोल्दै उनले स्नोडेनलाई शरण दिइरहेको रुसकोपनि आलोचना गरे।

सोही विषयलाई लिएर ओबामाले आगामी महिना मस्कोमा हुने भनिएको शिखर सम्मेलन रद्द गरिदिएका थिए।

सिरिया तथा मानवअधिकारका मुद्दामापनि दुई देशबीच विवाद रहेको जनाए।

“त्यसैले अब हामी केही रोकिएर, हाम्रा मूल स्वार्थ के हून् अनि रुस कता जाँदैछ भन्नेबारे सोचेर, आफ्ना सम्बन्ध पुनर्मुल्यांकन गर्नुपर्छ,” ओबामाले बताए।

उनले शिखर सम्मेलन रद्द गरेपनि अमेरिकि विदेशमन्त्री जोन केरी भने दुई देशका रक्षा तथा विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन हाल मस्कोमा छन्।

उनले त्यहाँ भने, “यी बैठकमा हामी हाम्रा असहमतिहरु पक्कै छलफल गर्नेछौं। तर यो बैठक हाम्रा आपसी असहमति तथा टकरावभन्दा माथि छ।”

सो बैठकमा क्षेप्यास्त्र सुरक्षा, अफगानीस्तान, उत्तर कोरीया, सिरिया तथा इरानका मुद्दाहरु छलफल गरिने बताइएको छ।