इराकमा पर्वको दिनमा भएको हमलामा दर्जनौंको मृत्यु

  • 11 अगस्ट 2013
इराक बम हमला
Image caption इद उल फित्र मनाइरहेका बेला क्याफे, बजार र रेस्तरांहरुलाई लक्ष्यगरी कार बम हमला भएका छन्

बर्षौंमा यसपालीको रमजान महिना सबैभन्दा हिंसात्मक मध्येको एक भएको छ, जुन क्रममा भएका हमलाहरुमा ६७० जना भन्दा बढीको ज्यान गैसकेको छ।

राजधानी बगदादस्थित शिया र सुन्नी समुदायका मानिसहरु बस्ने इलाकाहरुमा एघारवटा बमहरु विस्फोट गराइएका छन्।

त्यहांका नौवटा क्षेत्रमा रहेका क्याफे, रेस्तरां र बजारहरुलाई निशाना बनाइएको छ।

रक्तपात

सबैभन्दा रक्तपातपूर्ण आक्रमण दक्षिणपूर्वी उपनगरीय क्षेत्रमा भएको छ, जहां शनिवार बेलुकी एउटा खुला बजारमा कार बम हमला गरिंदा सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

विगत छ महिनामा भएका आक्रमणका घटनाहरुलाई हेर्दा, तिनमा शिया मुसलमानहरु बसोबास गर्ने क्षेत्रलाई सुन्नी इस्लामपन्थी उग्रवादी समूहरुले निशाना बनाएको देखिन्छ।

Image caption राजधानी बग्दादस्थित शिया र सुन्नी दुवै खाले समुदायका बस्तीहरुमा हमलाहरु भएका थिए

गत हप्ता प्रधानमन्त्री नूरी अल मलिकीले उग्रवादीहरु विरुद्धको कार्वाही जारी राखिने बताएका थिए।

आरोप

तर थुप्रै सुन्नीहरु, उनको शिया नेतृत्वको सरकारले आफूहरुलाई सिमान्तीकृत गरेको आरोप लगाउने गर्छन्।

इराकमा हिंसात्मक घटनामा भएको बृद्धिले, स्थिती दश बर्षअघि त्यहां अमेरिकी अतिक्रमण भएपछि देखिएको साम्प्रदायिक हिंसाको स्तरमा पुग्ने हो की भन्ने डर व्यक्त भैरहेको छ।

यसै सन्दर्भलाई लिएर टिप्पणीकारहरु अब देशलाई साम्प्रदायिक मापदण्ड अनुसार विभाजीत गर्नु पर्नसक्ने सम्भावनामाथि फेरि छलफल गर्न थालिसकेका छन्।