शान्ति भाँड्न खोजेको आरोप इजरेलद्वारा अस्वीकार

  • 12 अगस्ट 2013
वेस्ट ब्याङ्क नजिकैको बस्ती
Image caption वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेमका १०० भन्दा बढी बस्तीमा ५ लाख यहुदीहरु बसोबास गर्छन्

इजरेलले अधीनस्त भूमिमा बसोबास कार्यक्रमलाई फेरि विस्तार गर्ने घोषणा गरेपछि प्यालेस्टिनी प्रतिनिधिहरुले इजरेललाई दुई पक्षबीचको शान्ति वार्ता भाँड्न खोजेको आरोप लगाएका छन्।

वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेममा थप एक हजारभन्दा बढी घर निर्माण गर्ने इजरेलको निर्णय शान्तिको सम्भावनालाई बिगार्न जानाजान गरिएको प्रयास भएको एक जना वरिष्ठ नेता हनान् अस्रावीले बिबिसीलाई बताए।

तर इजरेलले त्यस्तो आरोप अस्वीकार गरेको छ।

इजरेलले १२ सय नयाँ घर बनाउने अनुमति दिएर शान्ति वार्ता भाँड्न खोजेको भन्ने प्यालेस्टिनी आरोप इजरेल सरकारका प्रवक्ता मार्क रेगेभले अस्वीकार गरे।

उनले भने, “हामी टेबुलमा अघि सारिएका सबै शान्ति प्रस्तावहरुले औंल्याएझैं नयाँ घरहरु निर्माण गर्दैछौं।”

ती क्षेत्रहरु इजरेलभित्रै पर्ने बताउँदै उनले भने, “हामी जेरुसलेका यहुदी बस्तीको कुरा गर्दैछौं, जसरी पनि इजरेल हुने भनेर सबैले बुझेको ठाउँमा निर्माण गर्ने कुरामा किन समस्या भयो?”

प्यालेस्टिनी बन्दीहरु

बुधबार शुरु हुने द्विपक्षीय वार्ताअघि इजरेलले मुक्त गर्ने २६ जना प्यालेस्टिनी बन्दीहरुको नाम सार्वजनिक गरेको छ।

तर प्यालेस्टीनी पक्षले इजरेलले बसोबासको कार्यक्रम ल्याएर शान्ति वार्ता भाँड्न खोजेको आरोप लगाएको छ।

आउँदा दिनमा इजरेलले १०० जना भन्दा बढी प्यालेस्टिनी बन्दीहरुलाई मुक्त गर्ने अपेक्षा गरिएको छ।

मुक्त गर्न लागिएका बन्दीहरुको नाम मन्त्रिस्तरीय एक समितिले सार्वजनिक गरेको थियो।

मुक्त गर्ने दिशामा इजरेलको पहिलो कदमले मंगलबार मूर्तरुप लिदैछ।

प्यालेस्टीनीहरु चांही जग्गा साट्न राजी छन्।

सन् १९६७मा इजरेलले वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेम आफ्नो अधीनमा लिएको थियो।

ती क्षेत्रका १०० भन्दा बढी बस्तीहरुमा ५ लाख यहुदीहरु बसोबास गर्छन्।

अन्तराष्ट्रिय कानून अनुसार ती बस्तीहरु गैरकानूनी मानिन्छन्, तर इजरेल त्यसलाई स्वीकार्न तयार छैन।