मुगाबेद्वारा विपक्षीहरुको कडा आलोचना

  • 12 अगस्ट 2013
मुगाबेका समर्थकहरु
Image caption विपक्षीहरुले चुनावमा व्यापक धांधली गरिएको आरोप लगाएका छन्

जिम्बाब्वेको विवादित चुनाव पछि राष्ट्रपति रोबर्ट मुगाबेले आफ्ना विपक्षीहरुको कडा आलोचना गरेका छन्।

विवादित राष्ट्रपतीय चुनावपछिको आफ्नो पहिलो सार्वजनिक वक्तव्यमा मुगाबेले आफ्ना प्रतिद्वन्द्वी मोर्गन चाङगिराइलाई आत्महत्या गर्न सुझाव दिए।

उनले चाङगिराइको दलसंग सत्ता साझेदारी नगरिने घोषणा पनि गरे।

‘हिरोज डे’ समारोहलाई संबोधन गर्दै राष्ट्रपति मुगाबेले चुनावमा धांधली भएको भन्ने आरोपहरुको खण्डन गरे।

उनान्नब्बे वर्षीय मुगाबेले भने, “चुनाव हार्नेहरुले इच्छा भए आत्महत्या गरे पनि हुन्छ। उनीहरु मरे भने उनीहरुको लाश खान कुकुर पनि आउनेछैनन्।”

बहिष्कार

मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडिसी) पार्टीका नेता मोर्गन चाङगिराइले उक्त समारोह बहिष्कार गरेका थिए।

एमडिसीले चुनावमा धांधली गरिएको भन्दै उजुरी गरेको छ।

गत जुलाई ३१ मा भएको चुनावमा मुगाबेको जानु पिएफ दलले ६१ प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाइएको छ।

आधिकारिक नतीजाहरुले एमडिसीले ३५ प्रतिशत मत प्राप्त गरी दोश्रो स्थान हासिल गरेको जनाएका छन्।

एमडिसीको उजुरीका कारण मुगाबेले सातौं पटक राष्ट्रपतिको रुपमा शपथ लिन सकेका छैनन्।

एमडिसीले चुनावमा घुस दिइएको, मतदाता नामावलीमा धांधली गरिएको लगायतका अनियमितताहरुको आफुसंग बलियो प्रमाण भएको दावी गरेको छ।

आमन्त्रण

चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई आमन्त्रण गरिएको थिएन। तर अफ्रिकी तथा क्षेत्रीय अनुगमनकर्ताहरुले चुनाव शान्तिपूर्ण भएपनि केही अनियमितताहरु भएको जनाएका थिए।

तर चुनावको पर्यवेक्षण गर्न सात हजार पर्यवेक्षकहरु खटाएको जिम्बाब्वे चुनाव सहयोग सन्जालले खासगरी शहरी इलाकामा झण्डै दश लाख मतदाताहरुको नाम हटाइएको तथा कैयौंलाई मतदान केन्द्रबाट फिर्ता पठाइएको जनाएको थियो।

नौ सदस्यीय संवैधानिक अदालतले चुनावका बारे परेका उजुरीहरुमाथि दुईसाता भित्र आफ्नो फैसला सुनाउने अपेक्षा गरिएको छ।

तर हाम्रा संवाददाता भन्छन्, संवैधानिक अदालतका धेरैजसो सदस्यहरु मुगाबे समर्थक भएकाले एमडिसीले दिएको चुनौती सार्थक हुने कमैले अपेक्षा गरेका छन्।